प्रचण्ड नै समाजवादका चालक शक्ति हुन्


कसैलाई देवत्वकरण गर्नु वा राक्षसीकरण गर्नु ठिक होइन । तर हरेक कुराको समीक्षा वा मुल्यांकन भने बस्तुवादी हुन जरुरी छ।
के हामी समाज रुपान्तरण चाहदैनौ ? के हामीले पुरानै राज्यसत्ता वा प्रतिगमन चाहेको हो ? के हामी वर्गीय विभेदको अन्त्य चाहदैनौ ? के हामी समतामूलक समाज चाहदैनौ ? के हामीलाई महिला मुक्ति, जातीय मुक्ति, क्षेत्रीय मुक्ति चाहिदैनरु के हामी समाजवाद चाहदैनौ ? के यति भएपछि पुग्यो ? के अब न्याय र समानता प्राप्ति भैसकेको हो ? के अब सबै खाले उत्पिडनको अन्त्य भैसकेको हो ? अब कुनै समस्या बाँकी छ‌ैन ? के यहि तरिकाले समाजवाद सम्भव छ ? के अब माओवादी पार्टी र प्रचण्ड को काम सकिएकै हो त ?

हैनभने समाज रुपान्तरणको पक्षमा, न्याय र समानताको पक्षमा मुलत गणतन्त्र, धर्म निरपेक्षता, संघियता र समाजवादको पक्षमा महत्त्वपूर्ण योगदान गर्ने मुख्य पात्र र पार्टी प्रति किन यति धेरै वितृष्णा फैलाइन्छ ? किन कमजोर तुल्याउन खोजिन्छ ? प्राप्त उपलब्धिको अवमूल्यन गर्ने कोशिश किन गरिन्छ ? के यहि तरिकाले समाज रुपान्तरण सम्भव छ ? के यहि विधि र प्रकृया बाट समाजवादमा पुग्न सकिन्छ त ? म भन्छु, किमार्थ सम्भव छैन।

जसले जसरी बुझे पनि माओवादी पार्टी आजको समाज रुपान्तरणको मुल प्रवाह हो भने कमरेड प्रचण्ड राष्ट्रिय राजनीति तथा समाजवादका चालक शक्ति हुन्। क्रान्ति र नेतृत्व रातारात जन्मिने कुरा होइन । एक युगमा एक पटक यस्तो उथलपुथल आउँछ जसले मानव मुक्तिको आधार निर्माण गरेर जान्छ। यो ख्यालठट्टाको विषय होइन ।

बेलायतमा सन् १६८८ को ग्लोरियर्स रेभुलेसन ले संवैधानिक राजतन्त्र स्थापना गर्यो, सन् १७८९(९९ को फ्रान्सेली राज्यक्रान्तिले धर्म निरपेक्षता सहितको गणतन्त्र स्थापना गर्यो, सन् १९१७ को अक्टोबर क्रान्तिले रुसमा समाजवादी गणतन्त्र स्थापित गर्यो, सन् १९४९ मा चिनमा जनगणतन्त्र स्थापना भएको हो भने आजका विकसित मुलुकहरू १८ औं शताब्दी बाट नै औंधोगिक क्रान्तिमा प्रवेश गरिसकेका थिए।
तर १०४ बर्षको राणा शासन, २५० बर्ष लामो सामान्ती राज्यसत्ता स्विकारेर आएको हाम्रो समाजमा अझ पनि सामान्ती र दास प्रवृत्ति पुर्ण रुपले हटेको छैन। शोषक सामान्तहरुमा आफुले गरेको रजाइँ र राज्यबाट खाइपाई आएको सेवा सुविधा कटौती हुदा एक किसिमको छटपटाहट देखिनु, महिलाले आफ्नो न्याय र अधिकार खोज्दा पुरुष साथिहरु तर्सिनु, मजदुरले कामको मुल्यकन खोज्दा मालिक वा पुजीपतिलाई छट्पटी हुनु, गरिब दुखिलाई हेप्न नपाउदा ठग्न नपाउदा र पीडा दिन नपाउदा धनिमानि भनाउदाहरुले आफ्नो अधिकार कुण्ठित भएको ठान्नु, त्यस्तै कसैले गरेको त्यागलाई उसको कमजोरी ठान्नु, खिसिट्युरि गर्नु, अन्याय सहनु वा बिद्रोह नगर्नुलाई शान्ति ठान्नु, न्यायको लागि गर्ने गतिविधि वा आन्दोलनलाई अराजक ठान्नु….दासत्व र सामान्ती प्रवृत्तिका मुल चरित्र नै हुन् जो हाम्रो समाजमा यत्र तत्त्र सर्वत्र कायमै देखिन्छ । सानालाई ऐन र ठुलालाई चैन छदैछ अझै।

समाज रुपान्तरणको संक्रमणकालीन अवस्था, जनता सचेत नभइसकेको र विकासले लय लिई नसकेको अवस्थामा अझ भनौ अग्रगमन र प्रतिगमनको टकरावको स्थितिमा भ्रमको खेती गर्ने, जनता ठग्ने, विचौलिया दलाल, नोकरशाही पुजीपति वर्ग र प्रतिक्रियावादीहरुको व्यापक चलखेल रहन्छ। राजनीतिक अस्थिरता, जनजीविकाको सवाल तथा सिद्धान्तको भ्रष्टिकरण आदि बाट आजित जनतामा नेता र राजनीतिक दलहरु प्रति अविश्वास र आक्रोशित उत्पन्न हुनसक्छ । हो यहि स्थिति देखाएर प्रतिगमनले टाउको उठाउने कोशिश गर्दछ।

संसदीय पद्धतिमा चुनाव जित्न पैसा चाहिने र चुनाव जितिसकेपछि फेरि हिजोको खर्च उठाउन र अर्को चुनावको लागि पैसाको जोहो गर्न कमाउनु नै पर्ने बाध्यताले राष्ट्रिय राजनीति चुनाव देखि चुनाव सम्मको गोल चक्करमा फस्न सक्छ जहा भ्रष्ट र विचौलियाहरु राज्यको शक्तिकेन्द्रमा आउने प्रवल सम्भावना रहन्छ ।

आज हामी लगभग यहि स्थिति भोगिरहेका छौ। एकातर्फ समाजवादी कार्यक्रम ल्याउन रोक लगाउने र त्यसलाई लागू गर्न नदिने मात्रै नभएर संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने सम्मको प्रवृत्ति देखा परेको छ भने अर्कोतर्फ प्राप्त उपलब्धिको रक्षा र प्रतिगमनलाई परास्त गर्ने शक्ति निरन्तर सडक, सदन र कानुनी लडाइँमा लड्नुपर्ने बाध्यता छ।

यदि यही स्थिति लामो समय सम्म रहिरह्यो भने प्रतिगमनकारी शक्ति बलियो बन्ने र मुलुक अन्योलताको भुमरीमा फस्ने सम्भावना पनि रहन्छ । यसर्थ क्रान्तिकारी शक्ति बलियो बन्न र हरेक चुनौती सग सम्झौता हैन संघर्ष गर्दै अघि बढ्न जरुरी छ। संसदीय निर्वाचन प्रणालीमा देखिएको कमजोरीलाई हटाउन चाडैं नै राष्ट्रिय बहस थाल्नुपर्ने आवश्यकता देखिन्छ। देशमा समाजवादी संस्कृतिको विकास गर्न जरुरी छ।

जसले जसरी बुझे पनि माओवादी पार्टी आजको समाज रुपान्तरणको मुल प्रवाह हो भने कमरेड प्रचण्ड राष्ट्रिय राजनीति तथा समाजवादका चालक शक्ति हुन्। क्रान्ति र नेतृत्व रातारात जन्मिने कुरा होइन । एक युगमा एक पटक यस्तो उथलपुथल आउँछ जसले मानव मुक्तिको आधार निर्माण गरेर जान्छ। यो ख्यालठट्टाको विषय होइन । यो जोकोहीले आँट गर्नसक्ने विषय पनि होइन । यो युग परिवर्तनको विषय हो, यसलाई बुझ्न नचाहनेहरुले हल्का रुपमा लिने गर्छन्, केहि स्वार्थि तत्वहरुले यसलाई गलत प्रमाणित गर्न भरमजबुर प्रयास गर्नसक्छन् । तर रक्तिम इतिहास कसैले मेटाउन खोजेर सम्भव छैन र क्रान्ति रोकेर रोकिने कुरा पनि होइन । यो इतिहासको आवश्यकताले जन्मिन्छ र ऐतिहासिक कार्यभार पूरा गरेरै जान्छ। यसलाई ऐतिहासिक भौतिकवादको दृष्टिकोणले बुझ्न जरुरी छ। आजका तमाम परिवर्तनकारी समाजवादी शक्तिहरु तथा आम न्यायप्रेमी जनताहरु एकजुट भई प्राप्त उपलब्धि र नेतृत्वको रक्षा गर्दै हजारौं चुनौतीहरुलाई लाखौं सम्भावनामा ढाल्दै निरन्तर अघि बढ्नुको विकल्प छैन।

राजनीतिक परिवर्तनको मुल प्रवाह तथा समाजवादको चालक शक्ति माओवादी पार्टीलाई मासेर, प्रचण्डलाई सकेर कसैले देश र जनताको मुक्ति गर्छु भन्छ त्यो केबल भ्रम र क्रान्ति प्रतिको धोखा बाहेक अरु केहि हैन। तर क्रान्तिकारी पार्टी भित्र पनि अहिले देखा परेको राजनीतिक,वैचारिक तथा सास्कृतिक स्खलनमा व्यापक सुधार आउन जरुरी छ, साथै विचार र व्यवहार विचको एक रुपता अनिवार्य छ।

जनयुद्ध र जनआन्दोलनको विरासत बोकेको अबको समाजवादी आन्दोलनको मुल चालक शक्ति माओवादी पार्टी र मुल पाइलट कमरेड प्रचण्ड नै हुन्। जसले जति नै गाली गरे पनि, जति नै घृणा गरेपनि, जति नै भ्रम फैलाए पनि यथार्थ यथार्थ नै हुन्छ। एक पटक शान्त भएर सोचौ, खुला हृदयले विचार गरौ। हामी विच वैचारिक मतभेद हुनसक्छन्, कार्यगत शैली फरक पर्न सक्छ, हाम्रो पार्टी अलग हुन सक्छ तर हाम्रो देश एउटै हो । हामी समाजवादका सहयात्री हौ । तसर्थ क्रान्तिकारी विचार, पार्टी र नेतृत्वको रक्षा गर्नु सबैको कर्तव्य हुन आउँछ।

(लेखक ओझा, नेपाल बुद्धिजीवी संगठन प्रदेश नं १ को अध्यक्ष हुन् ।)




तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ