नेपालले जित्यो केन्याविरुद्धको सिरिज


काठमाण्डु – नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोली केन्यालाई १६ रनले पराजित गरेको हो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.२ ओभरमा अलआउट हुँदै २१४ मात्र रन मात्रै बनायो । यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २-० ले जितेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए । करण केसी, आदील अन्सारी र पवन सर्राफले समान एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको थियाे । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे।

ओपनर देव खनाल र अर्जुन साउदले ५.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । अर्जुन १६ बलमा ५ रन बनाउँदै आउट भए । खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।

ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए । करण केसी ६ बलमा २ चौकासहित ११ रनमा आउट भए । केन्याका लागि भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले समान २-२ विकेट लिए । तीन एकदिवसिय अभ्यास सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ