निर्वाचन प्रणाली नै परिर्वतन गर्ने दाउमा प्रचण्ड, यस्तो छ कारण


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान निर्वाचन प्रणाली अनुकुल नभएको बताएका छन् । सोमबार स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गठबन्धन नै खतरामा पार्ने टिप्पणी गरेका हुन् ।

‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ।’, उनले भने ।  स्थानीय तहको निर्वाचन अन्तर्गत गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघीय चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको दावी गरे ।

‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो । गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए’ उनले भने । हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाए उनको भनाई छ ।

प्रचण्डले अबको निर्वाचनबाट दलाल, पुँजीपती र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै दलहरूमा गम्भीर छलफल हुन आवश्यक रहेको बताएका छन् ।

‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ । श्रमजीवी जनता र क्रान्तिकारीहरूले चुनाव जितेर आउने भनेको सपना जस्तो हुने भयो । दलाल पुँजीपतिहरू आउने भए । भ्रष्टहरू आउने भए । यसलाई विषय बनाएर गहिरो गरी राजनीतिक दलहरूभित्र पनि छलफल गर्न आवश्यक छ।’, उनले भने ।

प्रचण्ड गणतन्त्र पनि जनताको नभई बुज्रुवाको हुने हो कि भन्नेमा शंका रहेकोसमेत भन्न पुगे । प्रचण्डको यो अभिव्यक्तिबाट उनी वर्तमान निर्वाचन प्रणाली परिर्वन गर्ने रणनीतिमा लागेको भन्ने आँकलन गरिएको छ ।

उनले वर्तमान निर्वाचन प्रणाली परिर्वतन गनुपर्ने संकेत गरेका छन् । प्रचण्डले यसबारे मुख नखोले पनि आजको अभिव्यक्तिबाट सहजै अनुमान गर्न सकीन्छ की उनी वर्तमान निर्वाचन प्रणाली परिर्वन गर्ने रणनीतिमा लागेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ