गठबन्धनविरुद्ध लागेका हुन् नेकपाका तत्कालिन बहुमत सदस्य ?


काठमाण्डु – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंहदरबारमा भेला भए । असार १९ गते अहिले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका तत्कालीन नेकपाका सचिवालय सदस्य वामदेव गौतमको पहलमा बैठक बसेको थियो ।

जसको निरन्तरता आजको बैठक भएको नेताहरुले बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुनै लाग्दा गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथमा वामदेव गौतम छलफलमा जुटेका हुन् ।

छलफलमा आगामी निर्वाचन, सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र नेकपा एमालेका पछिल्ला निर्णयहरुबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकपछि सबैभन्दा पहिला वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका थिए । बाहिरिने क्रममा रहेका नेताहरुलाई सञ्चारकर्मीले बैठकका बारेमा प्रश्न राखे । अगाडि रहेका वामदेवले नारायणकाजीले बोल्नु हुन्छ भन्दै टार्न खोजे । माधव नेपाल र झलनाथ खनाल केही बोलेनन् ।

लिफ्ट खुल्नु अघि वामदेवलाई पत्रकारले फेरि प्रश्न गरे, ‘वामदेव काम्रेणले केही प्रस्ताव राख्नु भएको हो नेकपाकालीन ?’ तर उनले जवाफ दिएनन् । हात हल्लाउँदै हास्दै बसे । लिफ्ट खुलेसँगै गौतम, नेपाल र खनाल प्रवेश गरे । पत्रकारले प्रश्न गरे वामपन्थी दलहरुबीचको एकताबारे । जवाफ झलनाथले दिए । भने, ‘सिंगै राष्ट्रलाई एक बनाउने ।’

त्यसपछि प्रचण्ड आइपुगे । उनले बैठकबारे जानकारी दिए । ‘बसेको थाहा भइहाल्यो नेकपा कालका सचिवालयका बहुमत सदस्य । पहिला पनि बसेका थियौं’ उनले भने, ‘गठबन्धनलाई कामय राखेर अघि जानु पर्छ भन्नेमा विमति छैन । स्थानीय तहको निर्वाचनको परिणामलाई समेत ध्यान दिएर गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो । ’

उनले अगाडि भने, ‘नेकपा एउटै पार्टी भयौं हिजोका सचिवालयका बहुमत हौं हामी । विचार मिल्नेकाबीचमा एकताको सम्भावनाबारे छलफल गरिरहेका छौं, त्यो भनेको गठबन्धनको विरुद्ध भनेको होइन ।’

सोमबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनमा तालमेलको सिट बाँडफाट गर्दा कांग्रेसको मुख्य नेतृत्व हुने, चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा ५ वर्ष स्थिर सरकार सञ्चालन गर्ने लगायतका निर्णय गरेको थियो ।

कांग्रेसको निर्णयले गठबन्धनका अन्य घटक विशेषगरी माओवादी र नेकपा एसलाई भने झस्काएको छ । कांग्रेसले आगामी संघ र प्रदेशको चुनावमा गठबन्धन गर्ने निर्णयबाट उनीहरुले राहत त पाएका छन् । तर, निर्णयमा प्रयुक्त भाषाबाट आहत महसुससमेत गरेका छन् । यद्यपि कांग्रेस बैठकको निर्णयभन्दा सभापति देउवाको बोली नै अन्तिम हुने भएकाले अहिले नै धेरै प्रतिक्रियात्मक हुन आवश्यक नरहेको माओवादी नेताहरु बताउँछन् ।


ट्याग : #नेकपाका तत्कालिन बहुमत सदस्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ