नेकपा एसका मन्त्रीहरुको पद असार अन्तिम सम्म जोगिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्रीमण्डलमा हेरफेर गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । बजेट अधिवेशन चलिरहेको बताउँदै तत्काल मन्त्रीमण्डल हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अरुचि देखाएका हुन् ।
सोमबार नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको तर्फबाट नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । तर पार्टीले गरेको उक्त निर्णय प्रति नेकपा एसका केहीमन्त्रीहरुले आपत्ति जनाउँदै आफूहरुले तत्काल मन्त्री पद नछोड्ने अडान राखे । नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन् ।
त्यसपछि आज बसेकाे गठबन्धन दलहरुको बैठकमा नेकपा एसले गर्न लागेको मन्त्रि हेरफेरबारे छलफल भएको छ । स्रोतका अनुसार आज बसेको बैठकमा प्रधानमन्त्री देउवाले तत्काल नेकपा एसको तर्फबाट नयाँ मन्त्रि नियुक्त नगर्ने मनशाय रोखेका हुन् । आजकाे छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभगाी थिए ।
नेकपा एसको तर्फबाट मन्त्री बनेकाहरुले पनि प्रधानमन्त्री देउवालाई भेटेर संसद्मा बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने र ‘पाइपलाइन’ मा भएका केही काम गरेर मात्रै फिर्ता हुने मनसाय व्यक्त गरेका छन् । अब नेकपा एसको तर्फबाट अहिले सरकारमा भएका मन्त्रिहरुको पद असार अन्तिम सम्म जोखिने देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस