राष्ट्रपतिद्वारा यौन हिंसा, तेजाब आक्रमण लगायत पाँच अध्यादेश जारी
काठमाडौं । सरकारले यौन हिंसा नियन्त्रण, तेजाब आक्रमण लगायत विभिन्न ५ वटा अध्यादेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मंगलबार विभिन्न ५ वटा अध्यादेश जारी गरेकी हुन् ।
यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेश भए पनि संसदले कानून बनाउन सकेको छैन । सरकारले संसद अधिवेशन अन्त्यसँगै निष्क्रिय भएका ५ वटा अध्यादेश पुनः ब्युताएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस