नेपाल एयरलाइन्सको चरम लापरबाही : टायर फेर्न चार दिन लाग्यो, सयौं यात्रु बैंककमा अलपत्र


काठमाडौं । नेपाल एयरलाइन्सको चरम लापरबाहीका कारण थाइल्याण्डको बैंककमा सयौं यात्रु अलपत्र परेका छन् । नेपाल वायुसेवा निगमको एयरबस आरए-४०२ को टायर पड्किएका कारण यात्रुहरु अलपत्र परेका हुन् ।नेपाल एयरलाइन्सको ९ एन एकेडब्लू ए-३२० विमानको दुबै टायर पड्केपछी यात्रुहरु शुक्रबारदेखी बैंककमा अलपत्र परेको गुनासो छ । निगमको कमजोर व्यवस्थापनका कारण चार दिन हुंदा समेत टायर फेर्न नसकेपछी त्यसको आलोचना भइरहेको छ ।

निगमको जहाजको टायर चार दिन हुंदा समेत नबनेपनी कार्यकारी अधिकृत युवराज अधिकारीलाई भने त्यसको कुनै मतलब छैन । उनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नयां दिल्ली पुगेका थिए । जबकी कार्यकारी प्रमुख नै दिल्ली जानपर्ने कुनै कारण नभएपनि उनि चाकडीका लागि त्यहां पुगेको चर्चा निगमभित्र भइरहेको छ ।

उक्त जहाज बैंककबाट १ सय ५५ जना यात्रुहरु लिएर काठमाण्डौं फर्कने बेला ‘टेक अफ रन’ को क्रममा ब्रेक टेम्प्रेचर हाई भएको थियो । त्यसपछी विमानका चालक प्रशान्त राई र गृष्म श्रेष्ठले जहाजलाई रोक्ने निर्णय गरी रिजेक्टेट टेक अफ गरेका थिए ।

त्यही बेला जहाजको पछाडीको दुई वटा टायर पड्कनुका साथै बांकी दुई वटा टायरमा सामान्य क्षती भएको थियो । अहिले कतिपय निजी विमान कम्पनीहरुमा समेत ब्रेक सिस्टम हिट हुंदा चिस्याउने यन्त्र जहाजमा राखिएपनि निगमको जहाजमा ब्रेक फ्यान समेत जडान गरिएको छैन । जहाज खरिद गर्दा नै त्यो पाटोमा ध्यान दिनुपर्ने भएपनि त्यसमा दुरदर्शीता नदेखिएको निगमका एक अधिकारीले बताए ।

हिमालय एयरलाइन्सको जहाजमा समेत त्यस्तो संयन्त्र जोडिएको उनले जानकारी दिए । विमानका चालक राई र श्रेष्ठले बे्रक सिस्टम हिट भएको संकेत पाएसंगै जहाजलाई धावनमार्गमै रोक्ने निर्णय गरेका हुन् । यदी पाइप फुटेर तेल चुहिएको भए आलो लाग्ने सम्भावना बढी हुने निगमका एक पाइलटले बताए ।

निगम स्रोतले दिएको जानकारीअनुसार बैंककमा नेपाल एयर लाइन्सको प्राविधिक व्यवस्थापनको जिम्मा थाइ एयरवेजलाई दिइएको छ । तर, जगेडामा नभएका कारण टायर नेपालबाट दोहा हुंदै आइतबार बैंकक पठाइएको थियो । तर, भन्सार जांचपांसमा ढिलाई भएका कारण सोमबार मात्र टायर विमानस्थल पुगेको स्रोत बताउंछ ।

‘एउटा सामान्य गाडीमा त अतिरिक्त टायर राखिन्छ । तर, जहाजको एक्स्ट्रा टायर नभएर चार दिन ग्राउण्डेड हुनु लाजमर्दो कुरा हो । यसबाट नेपाल एयरलाइन्सको अवस्था कस्तो होला भन्ने सजिलै बुझ्न सकिन्छ ।’ नेपाल वायु सेवा निगमका एक उच्च अधिकारीले काठमाण्डुपाटीसंग भने ।

चार दिनसम्म जहाज बैंककमा रोकिदा यात्रुहरु अलपत्र मात्र परेका छैनन् । त्यसले निगमलाई आर्थिक रुपमा समेत क्षती भएको छ । बैंककमा अलपत्र परेका यात्रुहरुलाई निगमले सूवर्णभूमि नजिकै रहेको चारछेर होटलमा राखेको छ भने ३२० विमान विग्रेपछी १६२ यात्रु लिन निगमको ३३० विमान मलेसिया पुगेको छ । जसले गर्दा खर्च समेत डबल भएको निगम स्रोत बताउंछ ।

नेपाल एयरलाइन्सले शुक्रबार र सोमबार सातामा दुई दिन बैंकको उडान गरिरहेको छ । विमानमा १० जना विदेशी पर्यटक समेत सवार रहेको बताइन्छ । उनिहरु चार दिनदेखी अलपत्र परेपछी निगमको अन्र्तराष्ट्रिय छवी समेत बिगे्रको छ ।

निगममा व्यवस्थापनको जिम्मा लिएका केवी थापा र उपेन्द्र पौडेलको समेत यसमा कमजोरी देखिएको स्रोत बताउंछ । ‘टायर पट्केको कारण देखाउंदै चार चार दिनसम्म जहाज ग्राउण्डेड हुनुमा उनिहरु समेत दोषी छन् । यसमा भन्सार जांचपासका कारण ढिलाइ भएको भनेर उम्कने ठाउं छैन ।’ निगमका एक अधिकारीले भने ।

नेपाल एयरलाइन्स कमजोर व्यवस्थापनको कारण पछिल्लो समय ठुलो घाटा व्यहोरिरहेको छ । निगमको ऋण ५० अर्वभन्दा बढी पुगिसकेको छ । सरकारले समेत विजनेश प्लान नभइ थप रकम उपलब्ध गर्न नसक्ने बताइरहेको छ । तर,पर्यटन मन्त्रालय र निगमको नेतृत्वले अर्थमन्त्रालयलाई अहिलेसम्म कन्भिन्स गर्न सकेको छैन ।

निगममा पर्यटनमन्त्री प्रेम आलेले विवादित छवी भएका युवराज अधिकारीलाई गत कात्तिक ८ गते नियुक्त गरेका थिए । उनि निगमकै पूर्व कर्मचारी हुन् । तर, उनको आगमनपछी समेत वायु सेवा निगममा खासै सुधार हुन सकेको छैन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ