११२ औं अन्तर्राष्टिय नारी दिवसकाे अवसरमा सामाजिक विकास कार्यालय धनगढी,कैलालीकाे आवाहन


सबै जना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउन ‘सामाजिक न्याय र लैङ्गिक समानता,दिगो बिकास को सुनिस्चितता’ भन्ने नाराका साथ २०७८ को नारी दिवस भब्यताका साथ मनाउन सामाजिक विकास कार्यालय धनगढी,कैलालीकाे आवाहन गरेको छ।

आउनुहोस् आज संसार अनि समाजको कुरा गरौँ, कुरा गरौँ समाजको अनि संसारको अनि साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी-बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयवहरू चलायमान हुन्छन्, आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

आजका दिन संसारभरि विभिन्न कार्यक्रमहरू गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरू पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ, है ।

आज संसारले यस अर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिक जसोका समाचारमा महिला हिंसाका कैयन घटना सार्वजनिक हुन्छन्, कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबिच लुकाइन्छ, दबाइन्छ ।

समाजमा व्याप्त अतिवादी सोच र सङ्कीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी महिला निरीह कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । पुरानो उखान छ, ”यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता”… अर्थात्, ”जहाँ नारी पूजिन्छिन त्यहाँ देवता रम्दछन्” । तर लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ… सतीले सरापेको देशको दाग त्यतिकै भएको हैन लाखौँ सामाजिक सङ्कीर्णताका सिकार महिलाहरूको आशु नै हो जो अहिले कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।

विश्व परिप्रेक्ष्य कुरा गर्दा आमा दिवस या भ्यालेन्टाइन दिवसजस्ता विशेष दिवसहरूमा मानिसहरूले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह व्यक्त गर्ने गर्दछन्, तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरूको समायोजन हो, आउनुहोस् एक फेर सङ्कल्प अनि सम्झना गरौँ ती नारी पात्रहरूलाई जसले हाम्रो जीवनमा स्नेह अनि ममताको वर्षा गरेका छन्, ती सबैप्रति एक फेर कृतज्ञ बनौँ अनि सदा सर्वदा उनीहरूलाई सम्मान गर्ने प्रतिबद्धता जाहेर गरौँ । संसारभरिका मान्छेले बैजनी रग को रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताको लागी ऐक्यबद्धता जनाउँदछन् ।
यस पटकको नारी दिवस विभिन्न नारी केन्द्रित सङ्घ-संस्थाहरु, सामाजिक अभियन्ताहरूले, ” दीर्घकालीन भोलिका लागि लैगिंक समानता” भनेर पैरवी गरेका छन् । एक फेर सोचौँ, हामीले हाम्रा दिदी-बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ?…., चाहे हामी महिला हौं या पुरुष, नारी समानता कालागि हाम्रो भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।

शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरू गुन्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरू बिचको टक्कर वा द्वन्द्व नभएर अगुवार्इ गरिरहेको सामाजिक संरचनाले तोकिदिएको महिला पुरुषबिचको विरोधाभास परिधि, सीमा अनि समानतामा ठुलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

एक अर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौँ, समानतालाई सहकार्यमा रूपान्तरण गरौँ, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरूपमा नेपाली समाजले नारीको अर्चना गर्दै आएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिरहोस् । नारीहरू आमा रूपका जीवित देवी हुन्, यो प्रकृतिको अनि सामाजचक्रको एउटा महत्त्वपूर्ण कारण हो, सुन्दरता अनि समानता दुवैको समानान्तर लहरहरू बढ्दै जाउन्, तमाम आमा, हजुरआमा, दिदी बहिनी समग्रमा नारी स्वरूपलाई धेरै शुभकामना।
“नारी पुरुष सराबरी, सधैँ भरि बराबरी”



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ