एमसीसीबारे ४ नेताले राखे फरक मत, श्रेष्ठको असहमतिमा आइतबार छलफल हुने


काठमाडौं । नेकपा माओवादी केन्द्रका चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् । शुक्रबारबाट सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठकमा प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् ।पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ ।

व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको पनि उनीहरुको भनाइ छ । ‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो।’

उनले व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने तर्क गरे । नारायणकाजीले बैठकमा राखेको फरक मतबारे भने आइतबार मात्रै छलफल हुने भएको छ । पछिल्लो समय एमसीसीका कारण माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता श्रेष्ठबीच दोहोरी चल्दै आइरहेको छ ।

प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय गरेपछि नेता श्रेष्ठले उक्त निर्णयको विरोध जनाएका थिए । उनले विरोध जनाएपछि प्रचण्डले पनि श्रेष्ठलाई पार्टीमा बस्न मन नभए छाडेर जानेलाई रोक्न नसकिने बताएका थिए ।

नेता श्रेष्ठले पनि प्रचण्डको यो भनाइपछि पार्टीमा बस्ने या छाड्ने विषयमा आफ्नो समूहमा छलफल पनि गरेका छन् । साथै उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग पनि नयाँ पार्टी गठनबारे छलफल गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ