सुदूरपश्चिममा कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले टुंग्याए मन्त्रीहरूको नाम


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगिएको छ । सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।

सत्ता साझेदार दलहरूबीच कांग्रेसले मुख्यमन्त्री र दुई मन्त्री, एमालेले तीन मन्त्री र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्री लिने सहमति भएको छ ।

एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

एमालेले मन्त्री बनाउन लागेका प्रदेश सभा सदस्यहरू यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सहभागी थिए ।

एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा काननु मन्त्रालय लिने सहमति दलहरूबीच भएको नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसले आर्थिक मामिला र सामाजिक विकास मन्त्रालय तथा नागरिक उन्मुक्ति पार्टीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिने सहमति छ ।

नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । उनका अनुसार लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।

कांग्रेसबाट सुदूरपश्चिम सरकारमा प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापा बन्ने मन्त्री टुंगो लागेको छ ।

कांग्रेसबाट गीता चौधरी र ललिता सुनुवारलाई राज्यमन्त्री बनाउने तयारी छ ।

सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाहले शपथ ग्रहण गर्दैछन् । सोमबार नै उनले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ