महिला भलिबलमा भारतलाई हराउँदै नेपालको ऐतिहासिक जीत


काठमाण्डु – राजधानी काठमाण्डुमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जीत दर्ता गराएको हो ।

महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको छ । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेट भने नेपालले जित्यो ।

नेपालले भारतलाई २५–१७ ले पाखा लागायो । तर चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्‍यो ।

च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छन् । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगिताअन्तर्गत आईतबार दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन् भने सवा ५ बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछन् ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलंकामाथि २५–१९, २५–१८, र २५–१९ ले पराजित गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ