प्रचण्ड नेतृत्वको सरकार बिचौलियाले ढालेको वर्षमान पुनको आरोप


काठमाण्डु -नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेस र एमालेको गठबन्धन सरकार बिचौलिया र दलाले बनाएको दावी गरेका छन् ।

दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव आफ्ना पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बिचौलियाको काम नगरेकाले वर्तमान गठबन्धन बनेको बताए ।

उनले यसअघि संसदमा समेत वर्तमान सरकार बन्नुको पछाडी विचौलियाको हात रहेको बताएका थिए । तर, पुनले ति विचौलिया को भएको अहिलेसम्म भनेका छैनन् ।

उनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाहरु लागेको दावी समेत गरेका छन् । त्यसमा अरबौ रुपैया लेनदेन भएकाले आफु र प्रधानमन्त्री प्रचण्डले उनिहरुको चाहनामा काम नगरेको पुनको भनाई छ ।

पुनले बिचौलियाहरूले नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति र सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने उल्लेख गरे ।

धितोपत्र बोर्डको अध्यक्ष आफु निकट बनाउनका लागि मुख्यतया तीन समुह प्रतिस्पर्धामा थिए । जसमा जगदम्बा, खेतानलगायतको समुहको नेतृत्व दीपक भट्टले गरेका थिए भने अरु दुईमा उपेन्द्र महतो,चन्द्र ढकाल र रामेश्वर थापा थिए । अर्थमन्त्री पुन महतो र ढकाल समुह निकटलाई धितोपत्र बोर्डको अध्यक्ष ल्याउनेमा थिए । त्यसमा एक जना संचार उद्यमी समेत लागेका थिए ।

तर, गठबन्धनको अर्को पार्टी एमालेले भने धितोपत्र बोर्ड आफ्नो पार्टी निकटलाई दिनुपर्ने अडान राखेको थियो । एमालेले सन्तोषनारायण श्रेष्ठलाई बनाउन खोजेको थियो । त्यसमा अर्थमन्त्री पुनले अनेक गरेर प्रक्रिया रोकेका थिए । त्यसपछि दुबै दलबीच नै तिक्ततापूर्ण सम्बन्ध भएको थियो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल भने दुवै समुहलाई मिलाएर जानेका थिए । तर, तिनै समुहबीच कर्पोरेट वार भएपछि सरकार नै अफ्ठेरोमा परेको थियो । यसमा अर्थसचिव मधु मरासिनी र अर्थमन्त्री पुनको समेत दोहोरो भुमिका रहेको बताइन्छ । अहिले यो विषय अदालतमा पुगेको छ ।

पुनले बिचौलियाको नाम नभनेपनि उनले इंगित गर्न माथिका तिनमध्ये एकलाई रहेको उनि निकट स्रोत बताउंछ । उनले शनिवार कार्यक्रममा भने ‘हामिले बिचौलियाले भनेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरेनौं । उनिहरुको हितमा काम गर्न हामिले इन्कार गरेको नै हो । भ्रष्टाचारविरुद्ध लड्दा हामि सरकारबाट निकालिएका छौँ । यो अवस्था लामो समयसम्म रहन दिनुहुन्न ।’

पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले आफ्नो स्वार्थमा काम नभएपछि काँग्रेस र एमालेलाई मिलाउने काम बिचौलियाहरुले नै गरेको आरोप लगाए । दुवै दल मिलाउन व्यवसायी दीपक भट्ट र रामेश्वर थापा भुमिका खेलेको समाचार यसअघि प्रकाशित भएको थियो । भट्टको एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासंग निकट सम्बन्ध छ ।

पुनले ट्रङ्क लाइन र डेडिकेटेड लाइनको विद्युत् महसुल नतिर्ने व्यवसायीहरूलाई सरकारले संरक्षण गरेको समेत आरोप लगाए ।

‘लाल आयोगले न्यायोचित ढङ्गले ८ अर्ब तिर्नुपर्छ भनेको छ । तर, उद्योगीलाई राखेर मन्त्रीकै अगाडी कर्मचारीलाई नै थर्काउने काम भएको छ । जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरूले महसुल तिर्दिन भनेर च्यालेन्ज गर्नु र तीनको संरक्षण सरकारले गर्नुको यो सरकार तिनैले बनाएको स्पष्ट भइसकेको छ । ।’ पुनले भने ।

धितोपत्र बोर्डको लाइसेन्स लिन सक्रिय जगदम्बा ग्रुपले सबैभन्दा बढी विद्युत महसुल तिर्न बांकी छ । त्यसमा पुन निकट व्यवसायी पवन गोल्यानले समेत करोडौं रुपैया तिर्न बांकी छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ