कांग्रेसभित्र सुदूरपश्चिमको मुख्यमन्त्री बन्‍न चार नेताबीच हानथाप


काठमाण्डु – सुदूरपश्चिमको मुख्यमन्त्री बन्न नेपाली कांग्रेसभित्र हानथाप सुरु भएको छ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमल शाहसहित ४ नेताले मुख्यमन्त्री बन्न लबिङ सुरु गरेपछि पार्टीभित्रको मुख्यमन्त्रीको दौड रोचक बनेको छ ।

मुख्यमन्त्री बन्नका लागि पूर्वभौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका लागि लबिङ तिव्र बनाएका हुन् । प्रकाश कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा हुन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्दा संसदीय दल नेता आवश्यक नपर्ने भएकाले नेताहरू आफू बन्न लागिपरेका हुन् । केही नेताहरू भने पार्टीभित्रको विधि मिचिने भन्दै दलको नेतालाई नै मुख्यमन्त्री बनाउनु पर्ने भन्दै लागेका छन् ।

लुम्बिनीमा एमालेले संसदीय दल नेता लिला गिरीलाई मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि कांग्रेसमा पनि त्यसै गर्न सकिन्छ कि भनेर नेताहरू लागेका हुन् ।

मुख्यमन्त्रीका आकांक्षी नेताहरू सभापति देउवालगायतका नेतालाई कन्भिन्स गर्न भन्दै काठमाण्डुमा बसिरहेका छन् ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सुदूरपश्चिममा मुख्यमन्त्री कांग्रेसको भागमा परेको छ । दुई दल मिल्दा बहुमत पुग्ने भएकाले मुख्यमन्त्री बन्न धेरैले आकांक्षा देखाएका हुन् ।

सुदूरपश्चिममा अहिले नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घ सोडारीको नेतृत्वमा अल्पमतको सरकार छ । मुख्यमन्त्रीले विश्वास शुक्रबार विश्वासको मत लिए पनि नपाउने निश्चित छ । त्यसपछि बन्ने नयाँ सरकारमा कांग्रेसका नेताहरू मुख्यमन्त्री बन्न दौडधुप चलाएका हुन् ।

कांग्रेस सुदूरपश्चिम संसदीय दल नेता कमलबहादुर यसअघि १४ महिना मुख्यमन्त्री भएका थिए । सुदूरपश्चिममा डेढ वर्षको अवधिमा अब बन्ने सरकार चौथो हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ