माओवादी बैठकमा अध्यक्ष प्रचण्डले भोलि जवाफ दिने


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकमा पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्किनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा सोमबारसम्म १८ जना नेताले आफ्नो धारणा राखेका छन् ।

नेताहरूले उठाएको प्रश्नको मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र संगठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरूले धारणा राखेका थिए ।

नेताहरूको धारणालाई सश्लेषण गरेर अध्यक्ष प्रचण्डले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ