बेपत्ता बस र यात्रु भेटिएनन्, भारतीय टोली पनि फर्कियो, अब के ?


काठमाण्डु – असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रा गरेका दुई वटा बसको अवस्था अहिलेसम्म अज्ञात छ । यात्रु र बसको खोजीका लागि आएको भारतीय टोली पनि रित्तो हात आइतबार फर्किएको छ ।

पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती दुई बसमा ६५ यात्रु रहेकामा तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए । बससँगै हराइरहेका ६२ जनामध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ । अन्यको अवस्था अज्ञात छ । बस र यात्रु बेपत्ता भएको आज १७ औं दिन पुगेको छ।

त्रिशूली नदीमा पानीको वेग सोचेको भन्दा धेरै भएका कारण उपलब्धी हासिल गर्न नसकेको भारतीय टोलीले बताएको थियो । उच्च वेगसहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको टोलीको भनाइ थियो ।

पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर र प्राविधिक समेतको १२ जनाको टोली आइतबार स्वदेश फर्किएको हो ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्सका विशेषज्ञहरूले एक सातासम्म बस र थप बेपत्ता यात्रीहरूको खोजी गरेका थिए । नेपालको अनुरोधमा आएको भारतीय प्राविधिक टोली साउन ६ गतेबाट एक सातासम्म नेपालका सुरक्षा निकायहरूसँग मिलेर खोजीमा खटिएको थियो ।

खोजी कार्यमा चितवनस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको विपद् तालिम शिक्षालय कुरिनटारका प्राविधिक तथा अधिकृत र जवानहरू अनि नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका प्राविधिक, अधिकृत र जवानहरू संलग्न थिए ।

खोजी कार्यमा एंकरर अर्थात् फलामे हुक, गोताखोर, वाटर ड्रोन, सोनर उपकरण, र्‍याफ्टिङमा प्रयोग हुने डुङ्गा, बाइनाकुलर टेलिस्कोपलगायतको प्रयोग गरिएको थियो ।

उक्त कार्यमा सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोरहरू खटाइएको थियो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै निकायका गरेर कुल २८ जना गोताखोरहरू काममा निरन्तर खटिएका जानकारी दिए ।

सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रका प्रशिक्षक प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलले भारतीय टोलीले पनि त्रिशूलीको जटिलता आफूहरूका लागि नौलो भएको आफूहरूसँग बताएको जानकारी दिए ।

नेपाली र भारतीय दुवै टोलीको पछिल्ला दिनहरूको खोजी बस नदीमा खसेको भनिएको सिमलताल र जुगेडीबीचको क्षेत्रमा केन्द्रित थियो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूसालले  भारतीय टोलीले सिमलताल र चितवनको गाइघाटबीचको क्षेत्रमा खोजी गरेको जानकारी दिए ।

भारतीय टोली फर्किए पनि नेपाली सुरक्षा निकायले हराइरहेका बस र यात्रुहरूको उद्धार जारी राखेका छन् ।

सशस्त्र प्रहरीका एसएसपी पौडेल त्रिशूलीमा सवारी साधनहरू नभेटिएको यो पहिलो घटना नभएको बताउँछन् । पूर्वगृहमन्त्री माधव घिमिरे २०७३ सालमा चढेको गाडीसहित त्रिशूलीमा बेपत्ता भएका थिए । उनी र उनी चढेको गाडी हालसम्म भेटिएको छैन ।

भेटियो १९ किलोको चुम्बक

दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको हो ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ