सिमलताल बस दुर्घटना : बेपत्ता यात्री र बस नभेटिएपछि फर्किँदै भारतीय टोली


चितवन-चितवनको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा हराएका दुई वटा बस तथा यात्रुको खोजि गर्न आएको भारतीय टोली स्वदेश फर्कने भएको छ । एक हप्ताको लागि आएको भारतको विपत् व्यवस्थापन गर्ने (एनडिआरएफ) को आइतबार नै फर्कने तयारी भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

गएको आइतबारदेखि भारतीय टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो । आजसम्म खोजि गर्ने प्रयास जारी राखेको पनि केही उपलब्धि नभएको र एक हप्ताको समय पनि सकिएकाले टोली फर्किन लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

भारतबाट १२ जनाको टोली अघिल्लो शनिवार चितवन आएको र आइतबारदेखि काम सुरु गरेको थियो । उनीहरूे सोनार क्यामेरसहित त्रिशुली र नारायणी नदीमा चुम्बकको प्रयोग गरेर खोज तथा उद्वार कार्यमा जुटेका थिए । एनडिआरएफले ल्याएको १९ किलोको चुम्बक समेत त्रिशूली नदीले बगाएको छ ।

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा परी दुई वटा बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बस खस्ने क्रममा तीन यात्रुले पौडिएर ज्यान जोगाए भने कम्तिमा ६२ यात्रु नदीमा डुबेका छन् ।

त्यसयता दुवै बस भेटिएका छैनन् भने नारायणी नदीदेखि गण्डक व्यारेजम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ ।

१९ किलोको चुम्बक हरायो

त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ । गएको असार २८ गतेदेखि हराइरहेका दुई वटा बस र ती बसमा रहेका कतिपय यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा हिजो पनि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीका अनुसार हिजो एउटा १९ किलो र अर्को १४ किलोको चुम्बकले खोजी गरिएको थियो ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ