सुदुरपश्चिमकाे बजेट अधिवेशन अन्त्य, अध्यायदेशबाट बजेट ल्याउने तयारी


धनगढी । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरि जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको जानकारी दिए । प्रदेशको मन्त्रिपरिषद् बैठकले २९ असारमा प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

तर उक्त निर्णय कार्यान्वयन नगरेर प्रदेश प्रमुख मियाँ सोही दिन प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन काठमाडौँ गएका थिए । स्वास्थ्य समस्याको कारण देखाउँदै उनी नफर्किएपछि प्रदेश प्रमुखको कार्यालयले सरकारको बजेट अधिवेशन अन्त्य सम्बन्धी सिलबन्दी पत्र बिहीबार काठमाडौँ पठाएको थियो ।

प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेसँगै दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई अध्यायदेशमार्फत बजेट ल्याउने बाटो खुलेको छ । राजनीतिक समीकरण फेरिएसँगै २० असारमा एमाले सरकारबाट बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

एमालेले समर्थन फिर्ता लिएकै कारण चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको ३१ अर्ब ६२ करोड बराबरको बजेट पारित हुन नसक्दा प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको छ । मुख्यमन्त्री सोडारीले बजेट शून्यताको अवस्था अन्त्य गर्न अध्यायदेश तयार भएको बताउँदै प्रदेश प्रमुखले जारी गर्न मात्र बाँकी रहेको बताउँदै आएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ