प्रचण्डको दाबी–सरकारको नेतृत्वबाट हटेपछि आफूहरू विजयीको मुडमा


काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वबाट हटेपछि आफूहरू विजयीको मुडमा भएको दाबी गरेका छन् ।

खुमलटारमा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटमा उनले भने, ‘देशभरि मैले सुनेको छु, हामी सरकार छाड्दै गर्दा विजयी मुडमा छौँ, हामी जितेको जस्तो, हामी आक्रामक भएर प्रस्तुत हुने ठाउँ छ । हाम्रो मनोबल उच्च छ । दुई वटा ठूला ठूला दल मिलेर १९४ सीट ल्याएकाहरूको हालत हेर्नुभयो भने पूरै रक्षात्मक, कहीँ कसैको समर्थन पनि छैन ।’

उनले आफू नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरेकै कारणले सामाजिक सञ्जालमा गाली गर्नेको संख्या घटेको पनि दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘नयाँ सरकारप्रति जनताको कुनै आशा भरोसा छैन । सरकारबाट हटेपछि हाम्रो लागि संगठन बलियो बनाउने अवसर हो ।’ सामाजिक न्याय र सुशासनको पक्षमा सरकार अघि बढेपछि कांग्रेस र एमाले अप्राकृतिक ढंगले मिलेको आरोप दाहालको छ ।

उनले भने, ‘सरकारले नयाँ रेकर्ड बनाउँदै जाँदा सदनमा भएको पहिलो र दोस्रो पार्टी अप्राकृतिक ढंगले मिले । प्राय मिल्दैनन् त्यसरी, केले मिलायो भन्ने कुरा मैले सदनमा भनिसके । उनहरूलाई सुशासनको डरले मिलाएको हो ।’

उनले भने, ‘अब हामीले यही आधारलाई टेकेर संगठन सुदृढ बनाउने, विस्तार गर्ने, युवाहरूमा संगठन फैलाउने राम्रो वातावरण बनेको छ ।’

उनले जनताले पाएको आधिकारलाई खोसेर फेरि निरंकुशतातिर जाने प्रयास भइरहेको उल्लेख गर्दै उनले कांग्रेस एमाले मिलेर पश्चगमनको षड्यन्त्र सुरु भएकाले त्यसको विरुद्ध माओवादीले हुंकार गर्नुपर्नेमा जोड दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ