दोधारा चाँदनीस्थित सीमा बस्ती कटानीको उच्च जोखिम


कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० स्थित नेपाली सीमावर्ती बस्ती विपद्को उच्च जोखिममा परेको छ। लगातारको भीषण वर्षापछि जगबुढा नदीमा आएको बाढीका कारण दोधारा चाँदनीस्थित १८ नम्बर सीमा बस्ती कटानीको उच्च जोखिममा परेको हो।

दोधारा चाँदनीका स्थानीय पप्पु गुरुङले जगबुढा नदीले बस्तीतिरै कटानी भइरहेको बताए। ‘नदीपारी रहेको सीमावर्ती १८ नम्बर नेपाली बस्ती जोड्ने झोलुङ्गे पुलदेखि नै कटानी गरेको छ,’ उनले भने, ‘बस्तीतिरै कटानीले सिङ्गै नेपालीबस्ती जोखिममा परेको छ।’ सात घरधुरी नेपाली रहेको उक्त बस्तीमा जानका लागि शान्ति टोलदेखि पारी बस्तीमा झोलुङ्गे पुल निर्माण गरिएको छ। झोलुङ्गे पुलसमेत क्षतिग्रस्त भएको उनले बताए।

वाढीले झोलुङ्गेपुलमा समेत क्षति पुगेपछि उक्त नेपाली बस्तीको नेपालतर्फ सम्बन्ध विच्छेद हुने सम्भावना बढेको छ। नगरपालिका आउने एकमात्रै विकल्प एउटा झोलुङ्गे मात्रै हो। उक्त पुल नै जोखिममा परेकाले सो नेपाली बस्तीका स्थानीयलाई दैनिक कामकाजदेखि विद्यार्थीलाई विद्यालय आउनसमेत समस्या भएको छ।

दोधारा चाँदनी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख रघुनाथ भट्टले बर्षाले बस्तीसम्मै पुगेको पानीको सतह घट्दै गएपछि बस्ती कटान बढीरहेको बताए। उनका अनुसार महाकाली र जगबुढा नदीबाट दोधारा चाँदनीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको रेकर्डअनुसार यस बर्ष २३ र २४ असारमा दोधारा चाँदनीमा ६२४  मिलिलिटर बर्षा भएको छ।

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ