भोलि चौथोपटक प्रधानमन्त्री बन्दै केपी ओली


काठमाण्डु – प्रतिनिधि सभाका २ ठूला राजनीतिक दलको सहकार्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि आईतबार नयाँ प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

नेपाली कांग्रेस र एमालेबीच असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेश गर्न आईतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै २ दलले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न दाबी पेश गरिसकेका छन् ।

चौथोपटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आईतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरूले बताएका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए । पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन् ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी ३ पटक प्रधानमन्त्री भइसकेका छन् । लोकतन्त्र प्राप्तिको संघर्षमा लागेका उनले लामो समय निरंकुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ