काठमाण्डु – तिब्बतका निर्वासित नेता दलाई लामाले गत शनिबार आफ्नो ८९ औं जन्मदिन मनाएका छन् । उनको जन्म १९३५ जुलाई ६ मा भएको हो । उनको जन्म दिनको अवसरमा अमेरिका र भारतले छुटाछुटै शुभकामना दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दलाई लामालाई उनको ८९औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि लामालाई शुभकामना सन्देश पठाएका छन् ।
मोदीले विगत केही वर्षदेखि दलाई लामाको जन्मदिनमा शुभकामना पठाउँदै आएका छन् । लामाको जन्मदिनमा अमेरिका र भारतले शुभकामना दिएपछि चीनले आपत्ति जनाएको छ ।
चिनियाँ विज्ञहरूले फेरि एक पटक तथाकथित ‘दलाई लामा कार्ड’ खेलेर चीनलाई नियन्त्रण गर्ने उनीहरूको प्रयास भएको टिप्प्णी गरेको छ । अमेरिका र भारतको यस्तो प्रयास व्यर्थ जाने चीनको भनाइ छ ।
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका पूर्व प्रमुख झु वेइकुनले भन्छन्, ‘अमेरिका र भारत यस्तो कार्यले तथाकथित दलाई लामा कार्ड खेलेर चीनलाई नियन्त्रणमा राख्ने मनसायलाई प्रष्ट गर्छ ।’
‘चीनको सिजाङ स्वायत्त क्षेत्रको एकता र आर्थिक विकास सबैले देख्न सक्ने छन् र स्थानीय तिब्बती जनताको जीवनस्तरमा सुधार भइरहेको छ, जुन तथ्य दलाई लामा गुट र केही पश्चिमी देशहरूले परिवर्तन गर्न नसक्ने तथ्यहरू हुन्’, झूले उनीहरूको प्रयासलाई ध्यानमा राख्दै भने ।
विश्लेषकहरूले दलाई लामाको उत्तराधिकारीको बारेमा पश्चिमी मिडियाको प्रचारलाई पनि खण्डन गरेका छन् । लामाको जन्मदिनकै दिन शनिबार रोयटर्सले लेखेको थियो–‘दलाई लामा ८९ वर्ष पुगेपछि निर्वासित तिब्बतीहरू उनी बिनाको भविष्यबाट डराउँछन् ।’
चीनसँगको सम्बन्धमा दलाई लामा कार्डको प्रयोग अमेरिका र भारतका लागि नयाँ विषय होइन । जब अन्य दुई पक्षीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा बेइजिङसँग कुरा मिल्दैन, वासिङटन र नयाँदिल्लीले दलाई लामा कार्ड प्रयोग गरिहाल्छ ।
अमेरिका र भारतले दलाइ लामालाई विशुद्ध धार्मिक हिसाबले हरिरहेको भन्दै आएको छ भने चीनले यसलाई राजनीतिक विषय बनाएको छ ।
तर, पछिल्लो समयमा स्पष्ट रूपमा अमेरिकार भारतले दलाई लामा कार्ड प्रयोग गरेको स्पष्ट रूपमा देखिएको चीनको दाबी छ । यसले स्पष्ट रूपमा के देखाउँछ भने आफ्ना केही एजेण्डाहरूमा चीनसँगको बार्गेनिङका लागि दुवै देशले दलाई लामा कार्डको प्रयोगलाई तिव्रता दिएको छ ।
जब अन्य दुई पक्षीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा बेइजिङसँग कुरा मिल्दैन, वासिङटन र नयाँदिल्लीले दलाई लामा कार्ड प्रयोग गरिहाल्छ ।
‘दलाई लामाको उत्तराधिकारी खोज्ने पहल चीनको केन्द्रीय सरकारले दृढतापूर्वक गरिहेको छ,’ झू भन्छन्, उत्तराधिकारी खोजी कार्य निश्चित रूपमा सान्दर्भिक नीति र सिजाङका धार्मिक विश्वासीहरूको इमान्दार इच्छा अनुरूप हुनेछ ।’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले जुन १८ तारिखको नियमित पत्रकार सम्मेलनमा १४ औं दलाई लामा विशुद्ध धार्मिक व्यक्तित्व नभई चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्न राजनीतिक निर्वासनमा संलग्न भएको बताएका थिए । पृथकतावादी दलाई गुटले अमेरिकी राजनीतिज्ञहरूसँगको आफ्नो साँठगाँठलाई तीव्र बनाएपछि अमेरिकी सांसदहरूको समूहले गत महिना भारतको धर्मशालाको भ्रमण गरेर लामासँग भेट गरेको चिनियाँ भनाइ छ ।
तीन वर्ष अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सम्वन्धलाई अगाडि बढाउनका लागि केही पहलहरु लिए पनि त्यसमा सफल भएका छैनन् ।
आफ्नो एकपछि अर्काे एजेण्डालाई बेइजिङले रोक्न खोजेको भारतको बुझाइ छ । त्यसैले बेइजिङमाथि दबाव सिर्जना गर्ने एउटा अस्त्रका रुपमा उसले दलाइ लामालाई लिएको छ ।
चिनियाँ सञ्चारमाध्यमहरूले पनि भारतका यस अगाडिका सरकारहरूले भन्दा मोदीको सरकारले दलाई लामालाई बढी प्रयोग गरेको उल्लेख गरेका छन् । यति मात्र होइन, चीन सरकारसँग निकट रहेका सञ्चारमाध्यमहरूले यसलाई स्पष्ट रूपमा भारतको बार्गेनिङ औजारका रूपमा व्याख्या गरेका छन् ।