फागुन १ गतेबाट विद्यालय खुलाउने सरकारको तयारी


काठमाडौं । सरकारले कोरोना महामारीका कारण बन्द गरिएका शैक्षिक संस्थाहरु फागुन १ गतेदेखि खुला गर्ने तयारी गरेको छ । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने तयारी गरेको हो ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवाला पक्षसँग छलफल गरेका थिए । सो छलफलमा उनीहरुले सुरक्षाका मापदण्ड अपनाएर फागुन १ देखि शैक्षिक संस्था खुला गर्न सरकारलाई सुझाव दिएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माघ १२ गते शिक्षामन्त्री पौडेललाई भेटेर माघ २३ पछि विद्यालय खोल्न दिनुपर्ने माग गरेको थियो । शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि यसअघि नै लामो समयसम्म विद्यालय बन्द गर्न नहुने बताएका थिए ।

उनले अवस्था हेरेर विद्यालय खुलाउने प्रक्रियामा जान भनेकाले मन्त्रालयले पनि विद्यालय लामो समय बन्द गर्नु नहुने धारणा राखेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ, अभिभावक महासंघ, प्याब्सन, एनप्याब्सनका प्रतिनिधी सहभागी थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ