मुम्बईमा बसेर ‘पावर’ देखाउँदै विनोद चौधरी, अनुसन्धान रोक्न शक्ति केन्द्रमार्फत दबाव


काठमाण्डु – बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा हडपेको प्रकरणमा अनुसन्धान चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरी भारतको मुम्बई पुगेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको छ । सीआईबीले कीर्ते गरेको नयाँ प्रमाण भेटेका बेला सांसद चौधरी मुम्बईमा लुकेर बसेका छन् । नयाँ प्रमाण भेटिएपछि प्रहरीले उनलाई बयानका लागि बोलाउने तयारी गरेको थियो । तर, चौधरी यसको सुइको पाएर वैशाख २६ मा नै मुम्बई उडेका हुन् ।

‘सांसद चौधरी प्रहरीको अनुसन्धानमै हुनुहुन्छ । तर उहां बयान दिन नपरोस भनेर अनेक गरिराख्नुभएको छ । यस्तै गर्नुभयो भने उहांको यात्रा अनुमति समेत रोक्नुपर्ने हुन्छ । नयाँ प्रमाण भेटिएपछि उहाँलाई बयानका लागि बोलाउने तयारी छ,’ प्रहरी उच्च स्रोतले भन्यो ।

प्रहरीले यसअघि पनि कारखानाको १० रोपनी जग्गा हडपिएको प्रकरणमा सरकारी वकिलको कार्यालयमै बयान लिइसकेको छ ।

कारखानाको नाममा दर्ता कायम रहेको काठमाण्डु महानगरपालिका–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानूनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्यको हैसियतमा सीआईबीले चौधरीमाथि अनुसन्धान गरिरहेको छ ।

उनको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ । चौधरीलाई अख्तियारले समेत बयान लिने तयारी गरेको स्रोतले जनाएको छ ।

मुम्बईमा लुकेर शक्तिकेन्द्रमाथि दबाब

अनुसन्धान चलिरहेकै बेला मुम्बईमा लुकेका सांसद चौधरीले शक्तिकेन्द्रमाथि दबाब दिइरहेको उच्च स्रोतले जनाएको छ । नेपालमै रहँदा उनले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जग्गा प्रकरणको अनुसन्धान अगाडि नबढाउन आग्रह गरेको बताइएको छ । त्यति मात्र हैन चौधरीले आफु नभाग्ने भन्दै यात्रा अनुमति समेत मिलाइदिन आग्रह गरेको बताइन्छ ।

सांसद चौधरीकै आग्रहमा केही दिनअघि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितका नेताहरुले समेत प्रधानमन्त्री प्रचण्डलाई भेटेको स्रोतले जनाएको छ । उनी मुम्बईमा भए पनि जग्गा प्रकरणको अनुसन्धानलाई प्रभावित पार्न चलखेल गरिरहेको बताइन्छ । सांसद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सीआईबीले यसअघि नै सभामुख देवराज घिमिरेलाई दिइसकेको छ ।

यसअघि जग्गा प्रकरणमै चौधरीका भाइ अरुणलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला पनि विनोद चौधरी भारत गएका थिए । अरुण पछि अदालतको आदेशमा रिहा भएका थिए ।

सीआईबीमा बयान दिएर यसअघि सांसद चौधरीले प्रतिक्रिया दिँदै भनेका थिए, ‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरी नेपालभरका र विश्वभरका युवाहरूले, नेपालका रोजगारदाताहरूले, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन ।’

सांसद चौधरीले अहिले मुम्बईमा बसेर फोनमार्फत विभिन्न सरकारी निकायमार्फत दबाब दिइरहेका छन् । उनले सीआईबीको नेतृत्वलाई विभिन्न शक्तिकेन्द्रमार्फत फोन गराइरहेको स्रोतको दाबी छ । यसबारेमा चौधरीसंग सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ