डडेल्धुराको अजयमेरुमा दुईदिने शैक्षिक सम्मेलन, २९ बुँदे प्रतिबद्धतासहित घोषणापत्र


डडेल्धुरा :  डडेल्धुराको अजयमेरु गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन २९ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। ‘शिक्षामा गरिने खर्च, खर्च होइन लगानी हो’ भने मुल नाराका साथ दुईदिने शैक्षिक सम्मेलन २०८१ मंगलबार सम्पन्न भएको हो।

गाउँपालिकाको आयोजनामा बृहत् शैक्षिक सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लालबहादुर सेटीले बताए।

सहभागी सबै पक्षको समुहगत छलफल गरेर प्रतिबद्धतासहित घोषणापत्र निमार्ण गरेको उनले बताए। प्रतिबन्धता पत्रमा शिक्षक, अभिभाव, व्यवस्थापन समिति, राजनितीक दल र गाउँपालिकाले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि गनुपर्ने असल कार्यहरू समावेश गरिएको बालकल्याण मावि पुइलेकका व्यवस्थापन समिति अध्यक्ष धनबहादुर साउँदले बताए।

समग्र शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधिबीच सम्मेलनमा विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको हो।

सम्मेलनको पहिलो दिन प्रधानाध्यपकहरूले विद्यालयहरुको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती गरेका थिए। गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी तथा प्रस्तुती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सेटीले गरेका थिए।

शैक्षिक गुणस्तर सुधारका सबै पक्ष गम्भीर हुनुपर्ने प्रस्तुत समग्र शैक्षिक अवस्थाको विषयमा देखिएको छन्। ‘अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधि, शिक्षक, कर्मचारी, राजनीतिक दल हामी सबैले चिन्ता गर्ने हैन चिन्तन गर्नुपर्छ’ उनले भने, ‘शैक्षिक उपलब्धि हासिल गर्ने सबैको उत्तिकै भूमिका हुन्छ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रथम रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक प्रा.डा.हेमराज पन्तले शैक्षिक विकासका लागि अवलम्बन गरिएका असल अभ्यासबारे विशेष छलफल गरे।

ऐश्वर्या बहुुमुखी क्याम्पस कैलालीका प्रमुख धर्मदेव भट्टले विद्यालयको शैक्षिक विकासमा विद्यार्थी, शिक्षक, प्रधानाध्यपक तथा अभिभावकको जिम्मेवारी तथा समुदायीक विद्यालयको अवस्थाका विषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए।

शिक्षा सम्मेलनमा शिक्षाविद् डा.विद्यानाथ कोइरालाले शिक्षक थोत्रा र विद्यार्थी नयाँ भएको टिप्पणी गरे। शिक्षाको गुणस्तर सुधारमा शिक्षकको भूमिकालागयतका विषयमा बोल्दै डा. कोइरालाले शिक्षक अद्यावधिक हुन आवश्यक रहेको बताए।

‘हाम्रा शिक्षक थोत्रा भएर, विद्यार्थी अपडेट, विद्यार्थीबाट शिक्षकले प्रविधि सिक्नुपर्ने अवस्था भयो, अब शिक्षकलाई अद्यावधिक गर्नुपर्छ। पुरानो किसिमले हुँदैन,’उनले भने, ‘सीपसँग हाम्रो बच्चा जोड्नुपर्छ, पढ्दै कमाउँदै भन्ने विषयलाई स्थानीय तहरूले जोड दिनुपर्छ।’

बालबालिकाले मोबाइलको प्रयोगबाट नयाँ–नयाँ ज्ञानसीप सिक्न सक्ने भएकलो सकारात्मक कुराहरु कसरी सिकाउने भन्ने विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने शिक्षाविद् कोइरालाको भनाइ थियो।

दुईदिने सम्मेलको अजयमेरु गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास) ले समापन गरे। समापनमा बोल्दै अध्यक्ष भट्टले शैक्षिक गुणस्तर वृद्धि गन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु आवश्यक बताए। उनले राम्रो भनेको कुरा सुन्ने र नराम्रो भनेको कुरा नसुन्ने बानीको विकास गर्न शिक्षकलाई सुझाव दिए।

‘कसैले राम्रो भन्न छ भने कान सुन्ने बन्नुस्, नराम्रो भन्छ भने नसुन्ने बन्नुस् यति गरे सायद प्रगति हुन्छ,’ उनले भने, ‘आफूभित्र भएको ज्ञान आफूलाई नै थाहा नभएको जस्तो भयो अरूले यस्तो गर्नु तपाईंसँग त्यो क्षमता छ भन्नु परेको छ।’

यस्ता छन् २९ बुँदे प्रतिबद्धता

१. प्रभावकारी सिकाइलाई मूल ध्येयको रूपमा लिई पूर्ण तयारीका साथमा शिक्षण सुधारको योजनाका सहित कक्षा कोठाको सिकाइ कार्य प्रभावकारी बनाउनुका साथै समयको पूर्ण पालनाका लागि प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूका लागि समेत अनिवार्य पालना गर्नेछौं।

२. असल अभ्यास गरेका सामुदायिक विद्यालयहरूको अभ्यासको आदानप्रदान गर्न प्रतिबद्ध रहनेछौं।

३. शिक्षकको पेशागत विकासका लागि समान अवसर उपलब्ध गराई समय समयमा पेशागत विकास र पुनर्ताजगी तालिमको अवसर उपलब्ध गराउनसम्बन्धित निकाय प्रतिबद्ध रहनेछ र कार्यान्वयनमा शिक्षक पूर्ण जिम्मेवार भई कार्य सम्पादन गर्नेछन्।

४. शिक्षक हाजिरी रजिस्टर ई–हाजिरी र लगबुक व्यवस्थापन गरि सुशासनको प्रत्याभूती गरिने र हरेक विद्यार्थीको पोर्टफोलियो र निरन्तर मूल्याङ्कनका नवीनतम फाराम तथा तरिकाहरू अन्तर विद्यालय समन्वय र कार्यगत एकता आदानप्रदान गर्न प्रतिबद्ध रहनेछौं।

५. नियमित अभिभावक भेला समन्वय र अभिभावक तथा विद्यालयको समन्वयात्मक पहलबाट विद्यालयमाका खर्च कम पर्ने र उपलब्ध जनशक्तिको कारणबाट हुनसक्ने कार्यहरू सुसम्पन्न गर्न सम्बद्ध पक्षहरूका लागि आचारसिंहता निर्माण गरि पूर्ण पालना गर्न प्रतिबद्ध रहने छौं।

६.पाठ्यक्रममा आधारित शिक्षण गर्न विद्यालयको आवश्यकताअनुसार साप्ताहिक कार्यतालिका पाठ्यभारअनुसार सहक्रियाकलाप अन्तर्गत खेलकुद, हस्तलेखन, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु कार्यान्वयन गर्न प्रतिबद्ध छौं।

७. विद्यालयको तत्काल सर्वेक्षण गरी भौतिक कठिनाइ भएका विद्यालयको न्यूनतम भौतिक पूर्वाधार निर्माणमा गापा प्रतिबद्ध रहनेछ।

८. विद्यालयको बहुआयामिक विकासका लागि समूह कार्यमा कार्य गर्दै प्रभावकारीता अभिवृद्धिलगायत विद्यालय प्रधानाध्यापक र विषय वा अन्य समितिका संयोजकले विद्यालयको अध्यापनलगायत गतिविधिलाई पूर्ण पारदर्शी बनाउन शैक्षिक बडापत्र सामाजिक सञ्जाल विद्यालय पेज बुलेटिन जस्ता महत्वपूर्ण कार्यमा अपडेट प्रतिबद्ध रहनेछौं।

९. स्थानीय तहमा उपलब्ध स्रोत साधनको आधारमा एकीकृत परियोजनाकार्य गरि गराइ कक्षागत रूपमा निरन्तर मूल्यांकनसँग आधारित भई निरन्तर मूल्याङ्कन गर्ने र सोको रेकर्ड समेत अध्यावधिक गर्न प्रतिबद्ध छौं।

१०. विद्यालयको अनुकरणीय कार्यलाई प्रोत्साहित गर्दै गापाको वेबसाइट र पोर्टलमा राखी कार्यान्वयन गर्न तथा तत्काल पुरुस्कार र दण्ड को नीति कार्यान्वयन गरिनेछ।

११.यसै शैक्षिक सत्रदेखि तत्काल ध्यान र योग अभ्यास सबै सामूदायिक विलालयहरूले सञ्चालन गर्न गराउन प्रतिबद्ध छौं।

१२.विद्यालय र अभिभावकबीचको समन्वयलाई थप प्रभावकारी बनाउदै अभिभावकसँगको समन्वय अभिवृद्धिका कार्यक्रम, पूर्व विद्यार्थी समाजको कार्यविधि निर्माणजस्ता कार्य तत्काल कार्यान्वयन गर्नेछौं ।

१३. प्रअ र गापा तथा प्रअ र शिक्षकबीचको करार सम्झौता अक्षरसः लागू गर्ने र शिक्षकको कार्य सम्पादन समेतको स्व. मूल्यांकन तयार पारी प्रअको नेतृत्वमा लागू गरिनेछ।

१४.बाल विकासदेखि हरेक कक्षाका अभिभावकहरूलाई मासिक अन्तरक्रियाका लागि अनिवार्य विद्यालयमा आमन्त्रण गर्ने र सोको रेकर्ड अध्यावधिक गर्न प्रतिबद्ध रहनेछौं।

१५.सबै शिक्षक शिक्षिकाहरू शिष्ट भाषामा हँसिलो अनुहारसहित टिमवर्क र शिक्षक कर्मचारी आचारसंहिताको पूर्ण परिपालना गर्दै शिक्षण सिकाई क्रियाकलापलाई दिगो र गुणस्तरीय बनाउन प्रतिबद्ध रहनेछौं।

१६.कक्षागत रूपमा विद्यार्थीको दैनिक हाजिरी सकेसम्म डिजिटल प्रविधिबाट र नभए विद्यालयमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरीसकेसम्म डिजिटल पद्धतिको प्रयोग गरीविद्यार्थी तथा शिक्षक हाजिरी सूचना पार्टीमा समेत टाँस्ने व्यवस्था गर्नेछौं।

१७.अधिकाधिक स्थानीय सामग्रीहरूबाट निर्मित शैक्षिक सामग्री र विद्यालयमा उपलब्ध स्रोतका आधारमा अधिकतम शैक्षिक सामग्रीको निर्माण सङ्कलन र प्रयोग गर्ने गराउनेछौं।

१८. शिक्षक तथा विव्यस र शिअसको बैठक नियमित रूपमा गर्ने र सोको पूर्ण कार्यान्वयन गर्नेछौं।

१९.हरेक कक्षामा विद्यार्थी कार्यविभाजन तालिकासहित विद्यार्थीहरूलाई अधिकाधिक क्रियाकलापमुखी बनाई शिक्षण कार्य गर्न प्रतिबद्ध रहनेछौं।

२०. हरेक दिनको उपस्थिति र विद्यार्थीबारे जानकारी लिन विद्यालय सूचना अधिकारीलाई जिम्मेवार बनाइ पारदर्शिता बनाइने अभिवृद्धि गरिने छ ।

२१.बाल विकास तह र कक्षा १ ३ मा निरन्तर मूल्याङ्कन अनिवार्य लागू गर्नेछौं र सोको रेकर्ड अध्यावधिक गरी नियमित रुपमा छलफल र अनुगमनका बखत पेश गर्नेछौं। साथै विद्यालयको सबै विवरण अनिवार्यरूपमा iemis अध्यावधिक गर्नेछौ ।

२२. विद्यालय सुधार योजना (SIP) विद्यालय सामाजिक परीक्षण, आन्तरिक लेखा परीक्षण बाह्य लेखा परीक्षणलगायतका कार्यहरू नियमित र प्रभावकारी रूपमा अपडेट गर्नेछौं ।

२३. चालु शैक्षिक सत्रको आगामी एक महिना भित्रै हरेक कक्षामा बुक कर्नर, डिस्प्ले बोर्ड लगायतका आधारभूत सामग्री व्यवस्थित गर्नेछौं।

२४. हरेक विद्यालयमा विज्ञान प्रयोगशाला ICT ल्याब र पुस्तकालय स्रोतका आधारमा प्राथमिकताका क्रमका आधारमा व्यवस्थित गर्दै जानेछौं र उत्त कार्यका लागि सम्बन्धित निकायको सहयोग रहनेछ।

२५. स्वच्छ सफा वातावरण स्वस्थ सफा विद्याथी, हराभरा विद्यालय हाम्रो गौरव हाम्रो सम्पत्ति भन्ने भावका साथ विद्यालय वातावरणलाई हराभरा बनाउन पूर्ण प्रतिबद्ध रहनेछौं।

२६. विद्यालयले आयोजना गर्ने वार्षिकउत्सव तथा अन्य अवसरमा पालिकास्तरका प्रतिष्पर्धात्मक सहक्रियाकलाप आयोजना गर्नेछौं।

२७. विद्यालयमा अवरोध हुने गरि राजनैतिक क्रियाकलापहरु आयोजना नगर्ने तथा विद्यालयका कुनै पनि गतिविधिमा राजनैतिक हस्तक्षेप गर्नेछैनौं।

२८. विद्यार्थीहरूको त्रैमासिक परीक्षा पश्चात अनिवार्यरुपमा नतिजा विश्लेषण गरी आवश्यकताअनुसार थप कक्षा सञ्चालन गरिनेछ।

२९. यो प्रतिबद्धताको कार्यान्वयनको सम्पूर्ण अनुगमन अजयमेरु गापा (शिक्षा युवा तथा खेलकुद शाखा) ले गर्नेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ