गुल्मीको रेसुंगा आगलागीले करोडौंको ‘रेसुंगा पार्क’ जोखिममा
गुल्मीको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएकाे छ । आगलागी हुँदा करोडौंको ‘रेसुंगा पार्क’ जोखिममा परेको छ । आज बिहानबाट रेसुंगा पार्क क्षेत्रमा भीषण आगलागी भएका कारण पार्क जोखिममा परेको छ ।
पार्क नजिकैको सल्लेरीबाट भीषण आगो पार्क नजिकै पुगेको छ । रेसुंगा पार्क तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । रेसुंगा पार्क पाँच करोड ५९ लाख ५३ हजारको लागतमा निर्माण भएकाे हाे ।
पार्क क्षेत्रभित्र भ्युटावर, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, दुई शौचालय, प्रशासकीय भवन, टिकट काउन्टर र पुलसहितको पोखरी लगायतका संरचना निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले पार्क सुरक्षित गर्न सुरक्षाकर्मी परिचालन हुने बताए । रेसुंगा नगरपालिकाको दमकल भर्खरै गर्जुरा क्षेत्रमा गएको छ ।
तर, ठूलो सुल्लेरी, आगो ठूलो र दमकल पुग्ने तम्घासतिरको भागमा सडक नभएकाले नियन्त्रणमा समस्या रहेको सुरक्षाकर्मीहरुको भनाई छ । २१ चैतमा पनि रेसुंगा क्षेत्रमा आगलागी भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस