‘कालोधन’ मुद्दामा पूर्व सांसद इच्छाराजलाई १ अर्ब ७२ करोड जरिवाना गर्ने अदालतको फैसला


काठमाण्डु – पूर्व सांसद एवं सिभिल तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना हुने फैसला विशेष अदालतले गरेको छ ।

सहकारीका २ हजारभन्दा बढी बचतकर्ताले जम्मा गरेको रकम आफूसम्बद्ध कम्पनी, संस्था र निजी सम्पत्तिका रूपमा लगानी गरेर कालोधनलाई वैध बनाएको आरोपसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते दायर गरेको मुद्दाको फैसलामा आईतबार सजाय निर्धारण गरिएको छ ।

मुद्दामा टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोपीहरूलाई माघ ७ गते दोषी ठहर गरेकोमा आईतबार सजाय निर्धारण गरिएको छ ।

सञ्चालक इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई डेढ वर्ष कैद र १ अर्ब ३ करोड रुपैयाँ बिगोसहित जरिवाना गरिएको छ ।

अर्का अभियुक्त केशवलाल श्रेष्ठलाई पनि डेढ वर्ष कैद सजाय तोकिएको छ । उनलाई २५ करोड ६५ लाख बिगो जरिवाना भराउन आदेश गरिएको छ ।

सहकारीको रकम हिनामिनाको ठगी कसूरमा इच्छाराज अहिले पनि थुनामा छन् । ठगी कसूर सम्बन्धी मुद्दा जिल्ला अदालत काठमाण्डुमा विचाराधीन छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ