काँकडभिट्टा र गड्डाचौकीबाट मिटरब्याजपीडितको ‘न्याय मार्च’- १५ दिनमा काठमाडौं पुगेर आन्दोलन गर्ने


मिटरब्याजपीडितले पूर्वी सिमाना काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डाचौकीबाट ‘न्याय मार्च’ सुरु गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले पूर्वको मेची पुल र कञ्चनपुरको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीस्थित (नेपाल–भारत) ७ नम्बर सीमा पिलरबाट एकैसाथ मंगलबार आन्दोलन सुरु गरेको हो । मिटरब्याजीविरुद्ध सुरु भएको यो आन्दोलनमा मिटरब्याजपीडित पैदल हिँडेर काठमाडौं पुग्ने संघर्ष समितिकी केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । ‘हामी (मेची पुलबाट) पैदल हिँडेर चितवन पुग्छौँ । सुदूरपश्चिमबाट पनि साथीहरू चितवन आउनुहुन्छ,’ उनले भनिन्, ‘त्यहाँ भेला भएर काठमाडौं गएर हामी आन्दोलन गर्नेछौँ ।’

मेची पुलबाट सुरु भएको मार्च हिँडेरै दश दिनमा चितवन पुग्ने योजना छ भने सोही अवधिमा कञ्चनपुरबाट आउने टोली पनि चितवन पुग्नेछ । १५ दिनमा काठमाडौं पुग्ने लक्ष्य छ । कञ्चनपुरबाट सुरु भएको यात्रामा रहेका संघर्ष समितिका सह–इन्चार्ज  दामोदर ढकालले  पैदलयात्राका क्रममा पीडितसँग छलफल गरिने बताए ।

मेची पुलबाट हिँडेको ७० जनाको टोली पहिलो दिन झापाको कन्काई नगरपालिकास्थित लक्ष्मीपुरमा आइपुगेको छ । पीडितहरू पहिलो दिन त्यहाँको एक विद्यालयमा वास बसे । ‘हामी यसरी हिँड्दा सार्वजनिक स्थल, पाटीपौवा, धर्मशालामा बस्नेछौँ,’ उनले भने, ‘सबै पीडितले घरबाट नै चामल गुन्द्रुक ल्याएर आउनुभएको छ । त्यही पकाएर खान्छौँ ।’ बाटोमा एकीकृत हुँदै ठूलो टोली काठमाडौं पुग्ने भनिएको छ ।

संघर्ष समितिकी केन्द्रीय सदस्य घिमिरेले पटक–पटक आन्दोलन गर्दा पनि राज्यले नसुनेपछि सडकमा आउनुपरेको बताइन् । उनले अब निर्णायक आन्दोलनका लागि पीडितहरू काठमाडौं पुग्ने बताइन् । ‘राज्यले हाम्रो कुरा सुनेन । बरु पीडितमाथि उल्टै दमन ग¥यो । बाध्य भएर सडकमा आयौँ,’ उनले भनिन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ