स्रोत नखुलेको ४ करोड सम्पत्ति कान्छी श्रीमतीसँग भेटिएपछि शाखा अधिकृतविरुद्ध मुद्दा


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध ४ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

२०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ गैरकानूनी सम्पत्ति जोडेको र वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ साउन २६ देखि मिति २०७९ जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा स्रोत नखुलेको रकम ४ करोड बढी देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिनबहादुर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मिनबहादुर भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४/०४/२६ देखि मिति २०७९/०२/३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम कट अफ मिति (२०७९/०२/३०) को आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो अवधिभरमा निजको आयतर्फ पारिश्रमिक आय, अंशबण्डामा लिएको नगद, जग्गा बिक्री, शेयर बिक्री, ऋण सापटी लिएको, भत्ताबापत प्राप्त आय, कृषि आय, बिमा फिर्ता रकम, घर बहाल आय र सवारी साधन बिक्रीसमेत गरी जम्मा वैध आय रू. ५,९४,६७,१४८।१० (पाँच करोड चौरानब्बे लाख सत्सठ्ठी हजार एक सय अडचालीस रुपैयाँ दश पैसा) र सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ जग्गा खरिद, ऋण लिंदा तिरेको कमिसन, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, शेयर खरिद, ऋण सापटी फिर्ता, विद्युतीय उपकरण खरिद, घरको तला निर्माण, सवारीसाधन खरिद र बैंक मौज्दात गरी खर्च तथा लगानी रु.१०,२३,९२,२८८।१५ (दश करोड तेइस लाख बयानब्बे हजार दुई सय अठासी रूपैंया पन्ध्र पैसा) देखिन आएबाट सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम रू.४,२९,२५,१४०।०५ (चार करोड उनन्तीस लाख पच्चीस हजार एक सय चालीस रुपैयाँ पाँच पैसा) भएतापनि सो अवधिमा स्रोत नखुलेका अवधिका विभिन्न कट अफ मितिमा निजले गरेको खर्च तथा लगानी (सम्पत्ति) रकम रु. ४,४०,१५,९२५।८६ (चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैया छयासी पैसा) को वैधानिक स्रोत नखुलेको देखिँदा निजको वैध आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मिनबहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले निज मिनबहादुर भट्टराईलाई बिगो रु.४,४०,१५,९२५।८६ (चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रूपैयाँ छयासी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाई हाल कायम रहेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ । यसैगरी, निज मिनबहादुर भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजको कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा जग्गा खरिद, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम झुनाकुमारी कठेतलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिई आज बिशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ