धनगढीको ६ लेन सडकमा साइकल लेन


धनगढी–अत्तरिया जोड्ने ६ लेन सडकअन्तर्गत धनगढी खण्डमा साइकल लेन सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिकाले धनगढीको भन्सार रोडदेखि गेटासम्म ६ लेनमा साइकल लेन छुट्याएको छ। उपमहानगरपालिकाले करिब ४५ लाख रुपैयाँ खर्च गरेर करिब ७.१४ किलोमिटर लामो सडकको दुवैतर्फ साइकल लेन छुट्याएको हो।

साइकल लेनमा कलर लगाउनुका साथै चालकलाई लेन चिन्न सहज होस् भनेर ठाउँ-ठाउँमा साइकलकाे चित्र कोरिएको छ। धनगढीकी उपप्रमुख कन्दकलाकुमारी रानाले शनिबार बिहान साइकल लेनको उद्घाटन गरेकी छिन्।

लेनमा साइकल यात्रा गर्ने साइकल यात्रीलाई धनगढी चौहारामा हरियो झन्डा देखाएर उनले साइकल लेन उद्घाटन गरेकी हुन्। नगर प्रमुख गोपाल हमालसहित स्थानीयले ६ लेनमा निर्माण गरिएको साइकल लेनमा साइकल चलाएर यात्रा गरेका थिए।

साइकल लेन छुट्याएपछि दुर्घटनामा कमी आउने र साइकल यात्री तथा सवारीचालकलाई पनि सहज हुने उपमहानगरको भनाइ छ। ६ लेनमा साइकल लेन छुट्याएर सडकमा साइकल यात्रीको पनि हक छ भन्ने सन्देश दिन खोजेको नगर प्रमुख हमालले बताए।

‘मोटरसाइकल, गाडीमा हिँड्नेलाई साइकललाई स्पेस दिनुपर्छ भन्ने सन्देश दिन खोजेको हौँ। यसले सडकको सुरक्षा हुन्छ,’ उनले भने, ‘सडकको बीचमा पनि साइकल चलाएको देखिन्छ, लेन छुट्याएपछि दुर्घटना पनि कम हुन्छ।’

स्वास्थ्यसँगै पर्यावरणलाई पनि फाइदा पुग्ने भएकाले साइकल चलाउने परिपाटी बढाउन आवश्यक रहेको उनको भनाइ छ। यसका लागि नगरका अन्य सडकमा पनि साइकल यात्रीको सहजताको व्यवस्था गरिने उनले बताए। सुदूरपश्चिममै पहिलोपटक सडकमा साइकल लेन छुट्याइएको उपमहानगरको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ