नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्षभन्दा बढी कैद


नेपाल राष्ट्र बैंकका तत्कालीन शाखा प्रबन्धकलाई कैद तथा जरिवाना सजाय भएको छ। बुधबार विशेष अदालतले सजाय निर्धारण गरेको हो।

डिल्लीबजार शाखाका प्रबन्धक भूपराज कोइरालामाथि विशेषले २६ मंसिरमै कसुर कायम गरेको थियो। सजाय ठहरका लागि बुधबार पेस भएकोमा उनलाई ६ वर्ष एक महिना कैद सजाय भएको विशेषले जनाएको छ।

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ भने उति नै रकम नेपाल राष्ट्र बैंकले बिगोबापत कोइरालाबाट असुलउपर गर्न पाउनेछ। खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो।

कोइरालाले राष्ट्र बैंकको सिस्टम ह्याक गरी रकम हिनामिना गरेको भेटिएको थियो। बैंकमा जम्मा गर्नुपर्ने ब्याजसमेत उनले निजी खातामा हाल्ने गरेका थिए। उनले झन्डै ५५ लाख रुपैयाँ हिनामिना गरी खाइमासेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असार ०७७ मा मुद्दा चलाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ