राष्ट्रियसभा सदस्य निर्वाचनको मिति माघ ११ गते तोक्न निर्वाचन आयोगको परामर्श


काठमाण्डु – निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ ।

आयोगको निर्णयअनुसार बिहीबार आयोगका सम्पूर्ण पदाधिकारीले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष निर्वाचनको मिति तोक्ने सम्बन्धमा परामर्श उपलब्ध गराएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकबाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने जानकारी दिएका जनाइएको छ ।

राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा रिक्त हुने एकतिहाइ सदस्य पदहरूको आयोगले प्रत्येक २ वर्षमा निर्वाचन गर्दै आएको छ । नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक २ वर्षमा रिक्त हुने एकतिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको पदावधि फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ बमोजिम पदावधि समाप्त हुने मितिभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । ऐनबमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ ।

ऐनको व्यवस्था बमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पदपूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकाले आयोगले २०८० माघ ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ