निजि मेडिकल कलेजका संचालकहरु भन्छन् – ताला लगाउनुको विकल्प देखिएन
एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका अध्यक्ष बसरूद्दिन अन्सारीले मेडिकल कलेजको ताला सरकारलाई बुझाउने चेतावनी दिएका छन् । पछिल्लो समय मेडिकल व्यवसायीमाथि राज्यकै विभिन्न निकाय र त्यहाँ पदासिन व्यक्तिहरूबाटनै तर्साउने र धम्क्याउने गरिएको भन्दै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प नदेखिएको उल्लेख गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले हज्जारौं दक्ष मेडिकल जनशक्ति उत्पादन गर्दै आइरहेको क्षेत्रलाई राज्यले सधै अपहेलनाको दृष्टिकोणले व्यवहार गरिरहेको बताएका छन् । अन्सारीले कोरोना भाइरसको तेस्रो महामारी सन्निकट रहेको समयमा स्वास्थ्य संस्थाहरूमा ताला लगाउने परिस्थित सिर्जना नहोस् भनेका छन्।
‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन,’ उनले विज्ञप्तिमा भनेका छन्। शुक्रबार एशोसिएसनका महासचिव डा. सुनिल शर्मामाथि मोसो दलेर दुर्व्यवहार गरिएको भन्दै अन्सारीले त्यस्ता आक्रमण रोक्न सरकारसँग माग गरेका छन्। त्यो घटनमामा संलग्नलाई कडा कारबाही गर्न उनले माग गरेका छन्। शान्तिपूर्ण रूपमा पटक–पटक राज्यका अंगहरूसँग मेडिकल कलेज व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोक्न आग्रह गरे पनि कुनै सम्बोधन नगरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति
विगत लामो समयदेखि मुलुकमा गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रह?मा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको कुरा जगजाहेर भएपनि निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरू यतिबेला गम्भिर संकटतर्फ उन्मुख भएका छन् । निजी क्षेत्रबाट अरबौं लगानी गरेर देशका विभिन्न भू–भागका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुका साथै हज्जारौं दक्ष मेडिकल जनशक्ति उत्पादन गर्दै आइरहेको यस क्षेत्रलाई राज्यले सधैं अपहेलनाको दृष्टिकोणले व्यवहार गरिरहेको प्रष्ट छ ।
पछिल्लो समय मेडिकल व्यवसायीमाथि राज्यकै विभिन्न निकाय र त्यहाँ पदासिन व्यक्तिह? तथा विभिन्न राजनीतिक शक्ति केन्द्रह?को संरक्षणबाट परिचालित व्यक्तिहरूबाट अनेक आरोप लगाउने, धम्क्याउने, तर्साउने, मेडिकल कलेजह? तोडफोड गरी निजी क्षेत्रको सम्पत्तिमाथि समेत क्षती पुर्याउने कार्य भइरहेको छ ।
यसैसन्दर्भमा, मिति २०७८ पौष ३० गते सिंहदरबार स्थित शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्मा सहितको टोलीलाई मेडिकल शिक्षामा देखिएका समस्या समाधान गर्न बोलाएको बैठक पश्चात शिक्षा मन्त्रालयबाट बाहिर निस्कने क्रममा मन्त्रालयकै भुई तल्लामा महासचिव डा. सुनिल शर्मामाथि केही अराजक, उच्छृंखल समुहले आक्रमण गर्ने दुष्प्रयास गरेकोमा एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपाल गम्भिर ध्यानाकर्षण भएको छ ।
कुनैपनि समस्या समाधान वार्ता र छलफलबाट हुनुपर्दछ भन्ने आदर्शलाई आत्मसाथ गर्दै पछिल्लो समय मेडिकल शिक्षामा विद्यार्थी र अभिभावकविच देखिएको विवादलाई समाधान गर्ने हेतूले राज्यको नियामक निकायलाई ध्यानाकर्षण गराउँदै समूचित निकास खोज्ने क्रममा विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समुहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको हाम्रो ठहर छ । मेडिकल क्षेत्रबाट मुलुककै सबैभन्दा बढी राजस्व तिरेर सम्मानीत भएको, हज्जारौं विद्यार्थीलाई गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको एउटा सम्मानीत व्यक्तिलाई मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले यो सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कत्तिपनि चिन्तित र संवेदनशील रहेनछ भन्ने समेत पुष्टि भएको छ ।
राज्य निजी क्षेत्र मैत्री छैन भन्ने कुरा मेडिकल कलेज सञ्चालकहरूमाथि गरेको व्यवहारबाट प्रष्ट भइसकेको कुरा हो । नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूलाई धरासायी बनाएर वर्षेनी हज्जारौं नेपाली विद्यार्थीहरूलाई अरबौं रूपैया बोकेर विदेशीभूमीमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको छ । पर्दा पछाडी रहेर अमुक विदेशी शक्ति र तिनका एजेण्टहरूको इशारामा नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई तहसनहस बनाउने सड्यन्त्र स्वयं राज्यका नियामक निकाय तथा मेडिकल शिक्षा सुधारको नाममा अमूक विदेशी एजेण्टको भरिया बनेर कुर्लनेहरूले गरेका छन् । जब राज्य नै एजेण्टह?को संरक्षक बन्छ भने त्यहाँ कुनैपनि व्यक्ति, व्यवसायी सुरक्षित रहन सक्दैनन् । विश्वका ठूल्ठूला देशहरू विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट संभव भएको हो । तर, यहाँ त सरकारी संस्थाहरूलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अरबौं ऋण लिएर सञ्चालित संस्थाहरूलाई समेत सिध्याउने कार्य भइरहेको छ ।
विगत एक दशकयता निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरूमाथि विभिन्न तवरबाट आक्रमण हुने, भौतिक कारवाहीको धम्की दिने, गाली बेइज्यती गर्ने क्रम भइरहेकोमा निजी क्षेत्रबाट सञ्चालित कुनैपनि मेडिकल कलेज, अस्पतालहरूमा क्षती पुगेको खण्डमा तथा मेडिकल कलेज व्यवसायीहरूमाथि भएका आक्रमणहरूको जिम्मेवारी राज्यले लिनुपर्दछ भन्ने हाम्रो माग छ । निजी क्षेत्रले सम्मानीत रूपमा व्यवसाय गर्न-गराउन पाउनु नैसर्गिक अधिकार हो । हामीले शान्तिपूर्ण रूपमा पटक–पटक राज्यका अंगहरूसँग श्रृंखलाबद्ध रूपमा मेडिकल कलेज व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोक्न आग्रह अनुरोध गरेपनि कुनै संवोधन नगरेको ठहर गरेका छौं । निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरूमा ताला लगाउनुको विकल्प देखिएन । तसर्थ, कोरोना भाइरसको तेश्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाह?मा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिती सृजना नहोस् ।
अन्त्यमा, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्मामाथि दिनदहाडै सिंहदरबारको शिक्षा मन्त्रालयको प्राङ्गणमा भएको घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग गर्दछौं ।
म. बसरूद्धिन अन्सारी अध्यक्ष
एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपाल
तपाईको प्रतिक्रिया दिनुहोस