चिनियां प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सक्ने, विदेशमन्त्री वाङ काठमाण्डु आउंदै
काठमाडौं । चिनियां विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी विकास सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएसंगै वाङ नेपालको दुई दिने उच्चस्तरिय भ्रमणको क्रममा काठमाण्डु आउंन लागेका हुन् ।उनको भ्रमणबारे चिनियां पक्षले परराष्ट्रमन्त्रालयलाई जानकारी गराइसकेको छ । विदेशमन्त्री वाङको चैत्र दोस्रो साता नेपाल आउने तयारी छ ।
परराष्ट्रमन्त्री डा।नारायण खड्काको निमन्त्रणामा चिनियां विदेशमन्त्री नेपाल भ्रमणमा आउंदैछन् । चीनले सुरुमा नेपालका परराष्ट्रमन्त्री डा।खड्कालाई बेइजिङ भ्रमणमा आउंन अनुरोध गरेको थियो । तर, पछि मन्त्री खड्काले नै नेपाल भ्रमणमा आइदिन आग्रह गरेपछी उनी भ्रमणका लागी तयार भएका हुन् ।
कोभिड महामारीको कारण दुई देशबीच उच्चस्तरिय भ्रमण हुन् सकिरहेको थिएन । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार बनेसंगै दुवै देशबीचको उच्च तहमा खासै सम्वाद समेत भएको थिएन । चिनियां विदेशमन्त्रीको भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुमधुर हुने अपेक्षा गरिएको छ ।
उनको भ्रमणलगत्तै अर्थमन्त्रीको तहमा समेत भ्रमण गर्ने तयारी भएको छ । त्यसको लागि दुवै देशका उच्च अधिकारीहरु तयारीमा जुटिरहेका छन् । नेपालका अर्थमन्त्री जनार्दन शर्माको भ्रमण पहिले हुने सम्भावना रहेको स्रोतको दावी छ । यसैवर्ष परराष्ट्र सचिवस्तरिय द्धिपक्षीय परमार्श संयन्त्रको बैठक समेत बेइजिङमा बस्दैछ । त्यसमा सहभागी हुन परराष्ट्रसचिव भरतराज पौडेलको समेत चीन भ्रमणमा जांदैछन् ।
चिनका स्टेट काउन्सिलर समेत रहेका चिनियां विदेशमन्त्री यीको भ्रमणलगत्तै यसै वर्ष चिनियां प्रधानमन्त्री लि कछयांङको समेत भ्रमणको तयारी छ । कछयांङको जुनमा हुने भारत भ्रमणको बेला उनी नेपालको भ्रमणमा आउने गरी समेत तयारी भइरहेको स्रोतको दावी छ ।
चिनियां विदेशमन्त्री यीले सिपीपीसी र एनपिसीको विशेष सेशनमा विदेश नीतिबारे बोल्दै अहिलेको अवस्थामा चीन र भारत लडेर बस्नु नहुने धारणा राखेका थिए । उनको अभिव्यक्तिले पनि चीन भारतसहित यो क्षेत्रका अन्य मुलुकहरुसंग सहकार्य गर्न खोजिरहेको संकेत मिलेको यो क्षेत्रका जानकारहरु बताउंछन् ।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपनि विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालगायत प्रमुख पार्टीका शिर्ष नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको बेला दुई पक्षिय सम्बन्ध र क्षेत्रिय सहकार्यका साथै बेल्ट रोड एण्ट रोड कार्यान्वनयको मोडालिटी र कार्यक्रम तय गर्नेबारे समेत छलफल हुनेछ । त्यसका साथै पछिल्लो समय रोकिएका चिनियां परियोजनाहरुमा कसरी सहजिकरण गर्ने,बदलिंदो परिवेशमा कसरी अगाडी बढ्ने र चिनियां लोनबारे उठिरहेको प्रश्नमा समेत चीनले आफ्नो धारणा स्पष्ट पार्ने सम्भावना छ ।
उनको भ्रमणअघि दुई देशबीच हवाई सेवा सुचारु गर्ने र चीनमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई चीन फिर्ताबारे निर्णय हुने सम्भावना समेत रहेको स्रोतको दावी छ । ‘उहांको भ्रमणअघि नेपालमा हवाई सेवा सुचारु गर्ने र चीनमा अध्ययन गरिरहेका विद्यार्थीहरु चीन फिर्ता बारे निर्णय हुन्छ होला । भ्रमणअघि निर्णय भएन भने भ्रमणको बेला निर्णय हुन्छ ।’ परराष्ट्र स्रोतले काठमाण्डुपाटीसंग भन्यो ।
परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार परराष्ट्रमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी दिएका थिए । खड्काले कुन तहको भ्रमण हुने हो भन्ने बारे भने कुनै जानकारी दिएका थिएनन् । उनले समय आएपछी मात्रै भ्रमणबारे जानकारी गराउने बताएका थिए ।
चीनले एमसीसीलाई संसदबाट पारित नगर्न दबाव दिएको थियो । उसले एमसीसीलाई आफ्नो सुरक्षासंग जोडेर नेपाली नेताहरुलाई यसलाई सदनबाट अनुमोदन नगर्न आग्रह गर्दै आएको थियो । चिनियां विदेशमन्त्रालयका प्रवक्ताले समेत अमेरिकाले नेपाल जर्वजस्ती कुटनीति गरेको आरोप लगाएका थिए ।
एमसीसीमा चीनले धेरै पटक चांसो राखेपछी त्यसलाई नेपालमा समेत अस्वभाविक रुपमा लिइएको थियो । कतिपयले यो दुई देशको मामला भएको भन्दै यसमा चांसो नराख्न समेत चीनलाई आग्रह गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानामन्त्री नियुक्त भएपछी चीनबाट हुन लागेको यो उच्चस्तरिय भ्रमण हो । अमेरिका,भारत र बेलायतमा राजदूत नियुक्त गरेको तर, चीनमा नेपाली राजदूत नियुक्त नगरेको भन्दै चीनले त्यसमा असन्तुष्टि जनाएको बताइन्छ । त्यसका साथै देउवा नेतृत्वको सरकारले सीमा विवाद समेत झिकेको भन्दै चीन पछिल्लो समय असन्तुष्ट बनेको स्रोतको दावी छ ।
सरकारले उनको भ्रमणअघि नै पुर्व राजदूत लिलामणी पौडेललाई चीनको राजदूत नियुक्त गर्ने तयारी गरेको छ । उनि माओवादी केन्द्रको कोटबाट राजदूत नियुक्त हुंदैछन् ।
त्यस्तै साउदी अरेबियाका विदेशमन्त्री फैसद विन फरहान अल साउद पनि नेपाल भ्रमणमा आउने भएका छन् । साउदीका राजकुमार समेत रहेका साउद चैत पहिलो साता नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भ्रमणको तयारीमा दुवै पक्ष जुटिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस