युद्धबाटै भ्लादिमिर पुटिनले एकताबद्ध गर्न सक्लान् पूर्व सोभियत संघ ? अमेरिका त्रसित
काठमाडौं । रुसले युक्रेनमाथि विशेष सैन्य कारवाही सुरु गरेपछि विश्व कूटनीति तरङ्गित भएको छ । वर्षाैंदेखिको विवाद युद्धमा परिणत भएपछि रुस र युक्रेन दुवैतिर क्षति भइरहेको अनुमान छ तर क्षतिको यकिन र स्वतन्त्र विवरण सार्वजनिक भइरहेको छैन ।
अमेरिका र पश्चिमा देशको चेतावनीलाई बेवास्ता गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष कारवाही गर्न सेनालाई आदेश दिएका थिए । त्यसपछि रुसी सेना युक्रेनको क्षेत्रमा प्रवेश गरेर आक्रमण गरिरहेको छ ।
यसअघि रुसले युक्रेनका २ प्रदेश दोनेत्सक र लुहान्स्कका पृथकतावादीलाई सहयोग पुग्ने गरी छुट्टै राष्ट्रको मान्यता दिने घोषणा गरेका थिए । ती दुवै प्रदेशमा पृथकतावादीलाई सघाउन र छुट्टै राष्ट्र स्थापित गर्न रुसले आक्रामक भूमिका निर्वाह गरिरहेको छ ।
रुसले युद्ध सुरु गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पूर्व सोभियत संघलाई पुनः स्थापित गर्न चाहन्छन् । मलाई लाग्छ – उहाँको महत्त्वाकांक्षा बिल्कुलै विपरीत छ, जहाँ यतिबेला हामी छौं ।’
अमेरिकी नेतृत्वको सैनिक संगठन नेटोमा आवद्ध हुने प्रक्रिया युक्रेनले सुरु गरेपछि नै रुस असन्तुष्ट छ । युक्रेनलाई नेटोमा आवद्ध गरेर अमेरिकाले रुसलाई घेर्न खोजेको आरोप राष्ट्रपति पुटिनले लगाउँदै आएका छन् । तैपनि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि जाई नलाग्न रुस सचेत गराउँदै आएका थिए तर रुस अगाडि बढिसकेको छ ।
के हो पूर्व सोभियत संघ ?
सन् १९३९–१९४५ सम्म दोस्रो विश्वयुद्ध भयो, त्यसपछि सोभियत संघले पूर्वी युरोपबाट आफ्ना सेना हटाउन अस्वीकार ग¥यो, सन् १९४८ मा बर्लिनलाई घे¥यो ।
सोभियत संघको विस्तारवादी नीतिलाई रोक्न सन् १९४९ मा अमेरिकाको नेतृत्वमा नेटो स्थापना भयो । त्यतिबेला नेटोमा १२ सदस्य देश थिए । नेटोको सदस्यमा अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानडा, इटली, नेदरल्यान्ड, आइसल्यान्ड, बेल्जियम, लक्जमवर्ग, नर्वे, पोर्चुगल र डेनमार्क रहेका थिए । हाल नेटोमा ३० देश आवद्ध छन् ।
सोभियत संघविरुद्ध नै अमेरिकाले नेटो स्थापना गरेकाले रुससँग खराब सम्बन्ध रह्यो । त्यतिबेला विश्व २ वटा शक्तिमा बाँडिएको थियो – जसमा एउटाको नेतृत्व अमेरिका र अर्काेको नेतृत्व सोभियत संघले गरेको थियो ।
सन् १९९१ डिसेम्बर २५ का दिन सोभियत संघ विघटन भयो । सोभियन संघ टुक्रिएर अर्मिनिया, अजरबैजान, बेलारुस, इस्टोनिया, जर्जिया, कजाकिस्तान, कीर्तिस्तान, लतविया, लथुआनिया, मालदोवा, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेन र उज्वेकिस्तान गरी नयाँ १५ देश बने । सोभियत संघ विघटन भएपछि अमेरिका एक्लो महाशक्ति बन्यो ।
त्यसपछि अमेरिकी नेतृत्वको नेटोले सोभियत संघबाट विभाजित भएका देशलाई सदस्य बनाउन थाल्यो र रुसलाई चारैतिरबाट घेर्न थाल्यो । सोभियत संघबाट बनेका देशमध्ये रुससँग केही शक्ति बाँकी नै थियो, रुस अहिले पनि प्रभावशाली देशभित्र पर्छ ।
त्यो रुसको नेतृत्वमा लामो समयदेखि राष्ट्रपति भ्लादिमिर पुटिन छन् । उनी पुनः पूर्व सोभियत संघलाई स्थापित गर्न चाहिरहेको अमेरिकाको आरोप छ ।
यसअघि सन् २०१४ मा क्रिमिया रुसमा विलय गरिएको थियो । रुस राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमियाली नेतासँग मस्कोमा विलय सन्धिमा हस्ताक्षर गरेका थिए ।
पूर्व सोभियत संघलाई ब्युँताउन राष्ट्रपति पुटिनसामु अमेरिका र नेटो चुनौतीका रूपमा देखिएको छ । सोभियत संघ विघटनपछि बनेका देशमध्ये सन् २००४ मा इस्टोनिया, लतविया र लिथुआनिया नेटोमा आवद्ध भइसकेका छन् । सन् २००८ मा जर्जिया र युक्रेनलाई नेटोमा सहभागी हुने निम्तो दिइएको थियो तर यी २ देश नेटोको सदस्य बनिसकेका छैनन्, बन्ने प्रक्रियामा छन् ।
युक्रेन नेटोमा आवद्ध हुने प्रक्रियाप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै आएका छन् । गत वर्ष डिसेम्बरमा पुटिनले भनेका थिए, ‘हामीले स्पष्ट भनेका छौं – पूर्वी क्षेत्रमा नेटोको विस्तार मन्जुर हुँदैन । अमेरिकाले हाम्रो ढोकामा मिसाइल तैनाथ गरेको छ । यदि क्यानडा र मेक्सिकोको सीमामा मिसाइल तैनाथ गरियो भने अमेरिकालाई कस्तो लाग्ला ?’
रुसको सीमासँग जोडिएका देश इस्टोनिया, लतविया, लिथुआनिया र टर्की नेटोको सदस्य बनिसकेका छन् । यी देशमार्फत नेटो सेना रुसको सीमासम्मै आउनसक्छ । यदि युक्रेन पनि नेटोको सदस्य बन्यो भने रुस चारैतिरबाट नेटोको घेराबन्दीमा पर्नेछ, यो रुसलाई मन्जुर छैन । रुसी राष्ट्रपति पुटिनको तर्क छ, ‘यदि युक्रेन नेटोमा जान्छ भने भविष्यमा नेटोका मिसाइल युक्रेनको धर्तीमा मिनेटमा आउनेछन्, जुन रुसका लागि ठूलो चुनौती हो ।’
युक्रेनमाथि सैनिक आक्रमण गरेर रुसले आफ्नो शक्ति देखाउनुका साथै संकट र युद्धमा अमेरिका र नेटोले सहयोग नगर्ने सन्देश पनि दिन खोजेको छ । रुसी आक्रमणबाट संकटमा परेको युक्रेनलाई अमेरिका र नेटोले प्रभावकारी सहयोग गरेका छैनन्, युक्रेन एक्लै रुससँग युद्ध लडिरहेको छ । यस्तै परिस्थिति रहिरहे रुसका अन्य छिमेकी देश समेत डराउने र रुसी काबुमा आउने विश्लेषण हुन थालेको छ । यसबाट पूर्व सोभियत संघ ब्यूँताउने पुटिनको महत्त्वाकांक्षामा सहयोग पुग्नेछ ।
अब के गर्छ अमेरिका ?
युक्रेनमाथि आक्रमण गरेमा रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिँदै आएको अमेरिकाले २४ घण्टासम्म कुनै ठोस कदम चाल्न सकेको छैन । राष्ट्रपति बाइडेनले भनेका छन्, ‘म अमेरिकी सेना युक्रेनमा पठाउन सक्दिनँ ।’ यससँगै अमेरिकाले युक्रेनलाई सैन्य सहायता गर्नसक्ने अनुमानलाई गलत साबित गरिदिएको छ ।
रुसको आक्रमण रोक्न युक्रेनमा अमेरिकी सेना आएमा तेस्रो विश्वयुद्धको प्रारम्भ हुने अनुमान भइरहेको थियो । तर अमेरिकाले संयमता अपनाउँदै युद्ध मैदानमा सेना नपठाउने निधो गरेको छ । तर राष्ट्रपति बाइडेनले कडा शब्दमा रुसको निन्दा गरेका छन् । उनले भने, ‘पुटिन आक्रमणकारी हुन्, उहाँले युद्धको बाटो रोज्नुभयो । रुसले यो युद्धको नतिजा भोग्नुपर्नेछ ।’
राष्ट्रपति बाइडेनले जी–७ देशसँग मिलेर रुसलाई जवाफ दिने बताएका छन् । भीटीबीसहित रुसका ४ बैंकमाथि प्रतिबन्ध लगाउने योजना बाइडेनले सुनाएका छन् ।
हाल अमेरिका विश्वमा एक ध्रुवीय महाशक्तिराष्ट्र बनेको छ । पुटिनले पूर्व सोभियत संघ ब्यूँताउन सफल भएमा महाशक्ति बहुध्रुवीय हुने विश्लेषण छ । शक्तिराष्ट्र भएर उदाइरहेको चीन समेत रुससँग नजिक रहेकाले विश्व मानचित्रमा अमेरिकालाई संकट निम्तिन सक्ने समेत बताइन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस