राष्ट्रपतिले रिगललाई दिएको आममाफीविरुद्ध अनसन सुरु


काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले चेतन मानन्धरको हत्याका अभियुक्त योगराज ढकाल ‘रिगल’लाई दिएको आममाफीविरुद्ध चेतनकी पत्नी भारती मानन्धरले अनशन सुरु गरेकी छन् ।

नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर ३ वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

२०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरिएको थियो । मृतक चेतनकी पत्नी भारती मानन्धरले चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताइन् ।

घटना घटेको ८ वर्ष भइसक्दा पनि घटनाबाट बाहिर निस्किन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् । राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा फेरि दोहोर्‍याइदिएको उनको गुनासो छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ