कांग्रेसभित्र उकुसमुकुस : देउवाको सत्ता ढाल्न नयाँ समीकरण, प्रचण्ड सरकारलाई संकट


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको भविष्य के होला ? २०८४ सालको चुनावमा कांग्रेसले कस्तो नतिजा ल्याउला ? यस्तै प्रश्नबीच कांग्रेसभित्र नयाँ समीकरण बनाएर सभापति शेरबहादुर देउवाको सत्ता ढाल्ने अभ्यास सुरु भएको छ ।

केही दिनअघि ईलामको फिक्कलमा आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस सरकारमा छ । आज सबैभन्दा ठूलो राजनीतिक दल हामी हौं । तर जनताका समस्या सम्बोधन हुन सकेका छैनन् । यही तरिकाले ८४ को आमचुनावमा ठूलो पराजयको शिकार बन्न सक्ने अवस्थालाई आज नसोचे कहिले सोच्ने ?’

कांग्रेसभित्र सभापति देउवाप्रति मात्रै होइन, सरकारप्रति पनि तीव्र असन्तुष्टि रहेको महामन्त्री थापाको अभिव्यक्तिबाट झल्किन्छ । पार्टी र सरकारको यथास्थिति कायमै रहे कांग्रेस कमजोर हुने र आगामी चुनाव हार्ने थापा पक्षको बुझाइ छ ।

नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको आममाफी, कोशी सरकार, नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी लगायत प्रकरणमा महामन्त्री थापा सरकारविरुद्ध बोलिरहेका छन् ।

इलामकै कार्यक्रममै महामन्त्री थापाले भनेका थिए, ‘सभापतिको परम्परागत तरिका सहेर बस्दैनौं । संघर्ष गर्छाैं, पार्टी बदलेरै छाड्छौं । कांग्रेस बदलिए मात्र देशमा परिवर्तन आउन सक्छ ।’

कांग्रेस बदल्न सम्भव छ ?

कांग्रेस बदल्न नेतृत्व नै बदल्नुपर्ने निष्कर्षमा नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा लगायत नेताहरू पहिल्यैदेखि हुन् । त्यसैले सभापतिमा डा. शेखर उम्मेदवार पनि बने । निर्वाचनमा उनी निर्वाचित हुन सकेनन् ।

निर्वाचनबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित त भए तर सभापतिसँग उनीहरूको तालमेल मिलिरहेको छैन । पदीय हिसाबले महामन्त्रीसँग केही कार्यकारी अधिकार हुने भए पनि सर्वदलीय बैठक, गठबन्धन, सरकार निर्माण, मन्त्री छनोट, बजेट विनियोजन जस्ता महत्त्वपूर्ण र प्रभावशाली काममा महामन्त्रीको भूमिका देखिएको छैन ।

एकातिर कांग्रेसभित्र आशलाग्दा युवा नेताहरूलाई भूमिकाविहीन बनाइएको छ भने अर्काेतिर युवा आकर्षण नयाँ दलहरूतिर देखिएको छ । कांग्रेस नबदलिने हो भने महामन्त्रीद्वय लगायत नेताहरूको भविष्य बिलाएर जाने खतराबारे कांग्रेसभित्र चर्चा हुन थालेको छ । त्यसैले कांग्रेस नेताहरू पार्टी बदल्नेमा एकजुट हुन थालेका छन् ।

सभापति पदमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइरालाले कांग्रेस बदल्ने अभियानको नेतृत्व गरिरहेका छन् । त्यो नेतृत्वमा प्रभावशाली नेताहरू थपिनेक्रम बढ्दै गएको छ ।

सोमबार कांग्रेस नेता अर्जुननरसिंह केसीको निवास इटालीटारमा संस्थापनइतर पक्षका नेताहरूको बैठक बस्यो । बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, महामन्त्रीका प्रत्यासी प्रदीप पौडेल, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँगै प्रभावशाली नेताहरू बलबहादुर केसी र दिलेन्द्रप्रसाद बडू सहभागी थिए । नेता पौडेल संस्थापनइतर पक्षको बैठकमा जाने गरेका थिएनन्, अब उनी पनि थपिएका छन् ।

सभापति देउवा र उनकी पत्नी आरजु राणा देउवाको कार्यशैलीबाट असन्तुष्ट भएका परराष्ट्रमन्त्री एनपी साउँद पनि डा. शेखरको समूहसँग नजिकिएका स्रोतको दाबी छ । आफ्नै सरकारले पक्राउ गर्दा सभापति देउवाले कुनै भूमिका निर्वाह नगरेको गुनासो गर्दै पूर्वमन्त्री बालकृष्ण खाँण पनि असन्तुष्ट रहेका जनाइएको छ । नेता बालकृष्ण आफू पुर्पक्षका लागि थुनामा भए पनि उनकी पत्नी मञ्जु खाँण कांग्रेसभित्र प्रभावशाली नेत्री हुन् । बालकृष्णका भाइ रामकृष्ण खाँण नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सभापति हुन् ।

सभापति देउवा र आरजुको कार्यशैलीबाट असन्तुष्ट उपसमूहहरू यतिबेला डा. शेखरसँग नजिकिन थालेका छन् । जसले गर्दा संस्थापन पक्ष कमजोर हुँदै गएको छ ।

संसदीय दलको नेता हुँदै प्रधानमन्त्री फेर्ने रणनीति

डा. शेखर पक्षले सुरूमा सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउने रणनीति लिएको छ । महामन्त्री गगन थापाले यसअघि सार्वजनिक रूपमै देउवालाई संसदीय दलको नेताबाट हटाउने कोसिसमा रहेको बताइसकेका छन् । थापाले देउवाविरुद्ध उम्मेदवारी नै दिएका थिए ।

कांग्रेसको भविष्य र पार्टी रूपान्तरणको एजेन्डासँग जोडेर सांसदहरूलाई मनाएर दल नेता फेर्ने रणनीतिमा संस्थापनइतर पक्ष छ । प्रचण्ड सरकारले सन्तोषजनक काम गर्न नसकेकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवालाई दल नेताबाट हटाउनुपर्ने कोइराला पक्षको तर्क छ । आरजुको नाम विभिन्न प्रकरणमा आएकाले पनि पार्टीको छवि बिग्रिँदै गएको विषयमा पनि छलफल गर्न थालिएको छ ।

दल नेता फेर्ने रणनीतिमा सफल भएपछि कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । त्यसपछि नयाँ समीकरणअनुसार सरकार बन्ने स्रोतले जनाएको छ ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा कोइरालाले भनेका छन्, ‘हामी सरकारमा छौं, मन्त्री पनि छौं । ९० जना त सांसद नै छौं तर पनि सरकार हाम्रो हो भन्ने महसुस भइरहेको छैन । संसदीय प्रणालीमा प्रधानमन्त्री नै सर्वेसर्वा हुने हो तर न हाम्रा मन्त्रीको कुरा सुनिएको छ, न कांग्रेसले लिएका मन्त्रालयको कर्मचारीको नै समस्या सुनिएको छ । ठूलो दलको रूपमा कांग्रेसले सरकारको नेतृत्व लिन सक्ने हो कि होइन ?’ यो अभिव्यक्तिमार्फत डा. शेखरले कांग्रेसको आगामी मार्गचित्रबारे संकेत गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ