फाराम भरेको चार वर्षपछि राष्ट्रिय परिचयपत्र


संखुवासभामा चार वर्षपछि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । ०७६ मा आवेदन दिएका चार हजार ९५ जनाको राष्ट्रिय परिचयपत्र बनेर आएको जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र शाखाका सुपरभाइजर आशा जबेगूले बताइन् । उनका अनुसार त्यतिखेर प्रशासन र स्थानीय तहमा आवेदन दिने व्यवस्था थियो । तर, वितरण गरिएको थिएन ।

सरकारले हालै मात्र परिचयपत्र वितरणका लागि विकेन्द्रीकरण गरेपछि संखुवासभा प्रशासनले पनि वितरण गर्न थालेको हो । हालसम्म ९७ जनाले राष्ट्रिय परिचयपत्र लगेको जबेगूले बताइन् । प्रशासनबाट परिचयपत्रका लागि आवेदन दिएका र परिचयपत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ । यस आधारमा सेवाग्राही कार्यालयमा गएर परिचयपत्र लिन सक्छन् । संखुवासभामा पालिकास्तरमा वडाबाट फाराम भरेकाको परिचयपत्र आउन बाँकी छ ।

संखुवासभामा ५ भदौसम्म ९४ हजार सात सय २७ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । यसका लागि जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरमा समेत फाराम भर्न सकिने व्यवस्था छ । परिचयपत्र लिन भने जिल्ला प्रशासन कार्यालय खाँदबारी पुग्नुपर्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ