चिनियाँ व्यापारीले सामान रोकियो भनेपछि भन्सारमा फोन गरेको हुँः महरा


दाङ, ३० साउन– माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ९ केजी सुन तस्करी प्रकरणका आरोपी चिनियाँ नागरिक लुई र डोओजिङ वाङसँग आफ्नो सम्बनध रहेको स्वीकार गरेका छन् ।

मंगलबार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा महराले विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको तस्करीको सुन भन्सारमा पक्राउ परेपछि छुटाउन आफूले भन्सार कर्मचारीलाई टेलिफोन गरेको बताए । तर, उक्त सामान सुन भन्ने थाहा नपाएको प्रष्टीकरण महराको छ ।

‘भन्सारमा सामान रोकियो भनेपछि मैले भन्सारका कर्मचारीलाई फोन गरेको हो’, महराले भने । भेपमा सुन लुकाएर ल्याउने चिनियाँ नागरिक सँग महरा र उनका दुवै छोराको पटकपटक टेलिफोन संवाद भएको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नै बाहिर ल्याइसकेको छ ।

ब्युरोले सरकारी वकिल कार्यालयमा बुझाएको उक्त प्रकरणसम्बन्धी अभियोजन पत्रसँगै महरा बाबुछोराको चिनियाँ व्यापारीसँग पटकपटक कुरा भएको कल डिटेल समेत बुझाएपछि उक्त रहस्य बाहिरिएको हो । महराले वाङसँन्ग आफ्नो १०÷१२ वर्षदेखि चिनजान र आउजाउको सम्बन्ध रहेको बताए ।

तर, उनलाई आफूले फलफूल व्यापारीका रुपमा चिनेको दाबी गरे । महराले भेपमा सुन ल्याएको होला भन्ने अनुमान भएको भए आफूले फोन नगर्ने दाबी गरे । ‘भन्सारमा सामान रोकियो । फोन गरिदिनुप-यो भन्दा मैले इलिगल सामान हो कि भनेर सोधेको थिएँ’, उनले भने, ‘तर, इलिगल होइन । लिगल हो भने भनेपछि मैले भन्सारका कर्मचारीले फोन गरेर भे भएको हो लिगल सामान हो भने छाडिदिन भनेको हुँ ।’

सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महरा र उनका छोरा राहुलको नाम उल्लेख छ । तर, महरा बाबुछोरालाई प्रतिवादी बनाइएको छैन । महराले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताए ।

तर, प्रहरीले नबोलाएको महराले बताए । ‘मैले वक्तव्यमार्फत पनि छानबिनका लागि तयार छु भनेकै छु’, उनले भने, ‘सहयोग गर्न तयार छु भन्दा पनि प्रहरीले बोलाएको छैन ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ