कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । सरकारले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा निर्मतापूर्वक काम गरेको भन्दै उनले  गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै अर्थ नभएको बताए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कसैले भन्दैमा अहिलेको सरकार नढल्नेसमेत स्पष्ट पारे । उनले वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने ठोकुवा गरे ।

उनले भने,‘अहिले राजीनामाको प्रशंग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ । अर्को पोलिटिकल कन्जम्पसनपनि हुनसक्छ । गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन । सरकारले एकातिर राम्रो काम पनि गरिहरेको छ, अनि राजीनामा पनि दिनुपर्ने ? भ्रष्टाचारलीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने ? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने ? यो कुरा मिलेन ।’

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रशंग आउनु नै गलत भएको बताए । उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाए ।

यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाको दाबी छ । उनले आफू नेतृत्वको मन्त्रालयले भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको सुनाए । मन्त्री ज्वालाले आफूले पनि राम्रो कामको सुरुवात गरेको जिकिर गरे । उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको दाबी गरे ।

यस्तै उनले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । उनले निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ