प्रधानमन्त्रीको क्युबा, न्युयोर्क र चीन भ्रमणको गृहकार्य


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौ अन्तिम सातापछि क्युबा, संयुक्त राष्ट्रसंघीय महासभा न्युयोर्क र छिमेकी चीन भ्रमणमा जाने गरी गृहकार्य भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्राथमिकतामा चीनको भ्रमणलाई राखेका छन् । ‘प्रधानमन्त्रीको भ्रमणका लागि कूटनीतिक च्यानलबाट तयारी भइरहेको छ । समयको चापलाई हेरेर सकभर सबै ठाउँमा भ्रमण हुने गरी गृहकार्य हुँदै छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नयाँ पत्रिकासँग भने ।

कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सुरुमा क्युबाको भ्रमण गर्ने गरी तयारी छ । भदौ अन्तिम साता क्युबाको दुईदिने भ्रमण सकेर प्रधनमन्त्री प्रचण्ड न्युयोर्कमा पुग्ने कार्यतालिकामा गृहकार्य भइरहेको स्रोतले बतायो । २ असोजदेखि संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रअन्तर्गत उच्चस्तरीय सम्बोधन सुरु हुनेछ । त्यसलाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने योजनामा छन् ।

प्रधानमन्त्री प्रचण्डलाई ६ असोजमा चीनको हान्जाउमा आयोजना हुने एसियाली खेल कार्यक्रममा सहभागीसमेत हुने गरी औपचारिक भ्रमणको निमन्त्रणा छ । ‘संयुक्त राष्ट्रसंघमा सम्बोधन र उच्चस्तरीय भेटघाट सकिएपछि सम्भव भएसम्म मात्रै खेल हेर्न जाने सोचमा प्रधानमन्त्री हुनुहुन्छ । एसियाली खेलमा सहभागी हुन समयले दिएन भने न्युयोर्कबाट बेइजिङ गएर उच्चस्तरीय औपचारिक भेटवार्ता गर्ने गरी तयारी गर्न प्रधानमन्त्रीले भन्नुभएको छ । त्यहीअनुसार तयारी भइरहेको छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘समयको चापले गर्दा यीमध्ये रोज्नुपर्ने अवस्था आएमा प्रधानमन्त्रीको पहिलो रोजाइ चीन हो । चीनमा औपचारिक वार्ता हुने मिति तलमाथि नहुने गरी क्युबा र न्युयोर्कको कार्यक्रमका लागि गृहकार्य गर्नु भन्ने निर्देशनअनुसार समन्वय भइरहेको छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ