संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस


काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो ।

यही साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि  श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

यस्तै महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवेदन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको उनले बताए । यसका लागि इच्छुकहरूको आवेदन माग गर्न १५ दिनको सूचना निकालिने उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर प्रसाद श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ ।’

साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ