कांग्रेस मुर्च्छामा, एमालेको माग गृहमन्त्रीको राजीनामा !

सरकारकै पनि हजार कमजोरी होलान्, तर सबैको अर्जुन दृष्टि गृहमन्त्रीमाथि छ । मानौं यतिबेला देशका सबैभन्दा ठूला समस्या नै गृहमन्त्री हुन् ।


नारायणकाजी धेरै टिक्ने जस्तो देखिएन । नेपाली कांग्रेस बालकृष्ण खाँडले गर्दा मुर्च्छा परेको छ, एमालेको त एकसूत्रीय माग नै काजीको राजीनामा छ । रास्वपालाई पनि ‘फाइल खोल्ने’ भन्ने आफ्नो मुख्य एजेन्डा नै सकिने डर छ । स्वयं माओवादीका नेतालाई पनि लहरो तानिँदा आफ्नै पहरो ढल्ने डर छ ।

देशमा हजार समस्या छन्, चुनौती छन् । बर्सौंदेखि देशको बजेट घाटामा छ । देशको कमाइले तलबभत्ता धान्दैन । व्यापार घाटा अत्यासलाग्दो छ । वैदेशिक ऋण दुई–तीन वर्षमैं दोब्बर बनिरहेको छ । ऋण लिएर समय र लागतभन्दा बढ़ीमा बनेका हरेक योजनाले सुको कमाउनु त परको कुरा चल्नकै लागि थप ऋण लिनुपर्ने अवस्था छ ।

देशमा संविधानमा लेखिएका तर कानुन नबनेर कार्यान्वयन नभएका हजार विषय छन् । आर्थिक मन्दीदेखि महँगी र बेरोजगारीसम्म आमजनताका कति मुद्दाहरू छन् । बाढ़ी पहिरोदेखि मलसम्म, ड़ेंगीदेखि पहाड़ी भेगमा बाँदर आतङ्कले जनजीवन नै नष्ट गरेको अवस्थासम्म कति धेरै इस्यु छन् ।

तर बारम्बार संसद बन्द र अवरोध भएको छ अर्कै विषयमा । बहस र गालीगलौज चलेको छ अरू नै इस्युमा । सरकारकै पनि हजार कमजोरी होलान्, तर सबैको अर्जुन दृष्टि गृहमन्त्रीमाथि छ । मानौं यतिबेला देशका सबैभन्दा ठूला समस्या नै गृहमन्त्री हुन् । यस्तो घाँटीमा तरबार झुन्डिएको स्थितिमा गृहमन्त्रीले राम्रो काम गर्न नसकेका होलान्, तर नराम्रै काम गरेजस्तो पनि देखिन्न ।

केही हुँदैछ भन्ने आभास बेलाबेला भइरहेकै छ । अलिकति आँट र इमान् नहुने हो भने आफ्नै गठबन्धनका शक्तिशाली नेतालाई जेल पठाउने घटना घट्दैनथ्यो होला । भ्रष्ट र बेइमानहरूको जालो पक्कै मजबुत र फराकिलो हुन्छ । त्यो सबै एउटै व्यक्तिले एकैपटक तोड्न सक्ने कुरो भएन । अलिकति तोड्ने र अलिकति डर पैदा गर्ने हो । जुन भएकै देखिन्छ ।

अर्को ल्याउन खोजिएको पनि सबै जालो एकैपटक तोड्ने उद्देश्यले पक्कै नहोला । के तपाईंलाई ठ्याक्कै थाहा छ ? कसरी यो सरकारका सबैभन्दा नालायक, भ्रष्ट र राष्ट्रघाती मन्त्री नारायणकाजी नै हुन् र उनी हटेपछि देशले एउटा गति लिन्छ ? हिजो प्रमाणसहित करोडौंको भ्रष्टाचारका अडियो र समाचार बाहिर आउँदा पनि छानबिनको साटो बचाउ गर्नेहरू आज कारबाही हुँदा पनि भ्रष्टाचारको संरक्षण भयो भन्दै गृहमन्त्रीमाथि नै खनिनुको खास कारण के होला ?

के तपाईंलाई पनि लाग्छ, सरकार र प्रतिपक्ष मिलेर भ्रष्टाचार निर्मूल पार्न चाहन्छन् तर त्यसमा अवरोध पुर्याउने एकमात्र पात्र नारायणकाजी नै हुन् ! लाग्छ भने, र यो सत्य हो भने हामी सबै मिलेर काजीको राजीनामा मागौं र देशलाई भ्रष्टाचारमुक्त बनाऔं !



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ