दाहालमाथि दबाब बढाउँदै तीन उपमहासचिव


काठमाडौँ — माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका सशस्त्र युद्धकालका डेपुटी कमान्डर हाल उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्माले आफ्नो भूमिका बढाउन थालेका छन् । उनीहरूलाई अर्का उपमहासचिव शक्तिबहादुर बस्नेतले साथ दिएका छन् । विगतमा फरक–फरक समूह चलाउँदै आएका तीन जना एकै ठाउँमा उभिएपछि दाहालमाथि दबाब परेको छ ।

नेतृत्वलाई सफल बनाउन अभियान सुरु गरेको बताएका उनीहरूले साउन तेस्रो साता बस्ने केन्द्रीय समितिमा पार्टी सुदृढीकरणको प्रस्ताव लैजाने गृहकार्य गरेका छन् ।

उपमहासचिव पुनले पार्टी पुनर्निर्माण अभियान चलाउने तयारी गरेको बताए । ‘हामीले अहिले होइन, एक वर्षअघिदेखि नै मिलेर काम गरिरहेका छौं, पार्टीलाई सुदृढ गर्ने, जनस्तरमा पुर्‍याउने, आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने संकल्पका साथ मिलेका हौं,’ उनले कान्तिपुरसँग भने, ‘पार्टीलाई एकताबद्ध गर्न र अध्यक्षलाई सहयोग गर्न मिलेका हौं ।’

गत पुसमा भएको महाधिवेशनमा पुन र शर्मा महासचिवको प्रमुख दाबेदार थिए भने बस्नेत आकांक्षी थिए । तर, अध्यक्ष दाहालले तीनै जनालाई पन्छाएर देव गुरुङलाई महासचिव बनाए । पुन, शर्मा र बस्नेत उपमहासचिव चयन भए । त्यतिबेला पुन र शर्माले दाहाललाई भेटेरै भनेका थिए– महासचिव हामी दुईमध्ये जसलाई बनाए पनि मञ्जुर छ । स्रोतका अनुसार दाहालले ‘हुन्छ पनि भनेनन्, हुन्न’ पनि भनेनन् ।

गुरुङ महासचिव चयन भएपछि उपहासचिव पुन स्वास्थ्य उपचारका लागि चीन गए । करिब चार महिना स्वास्थ्यलाभ गरी उनी असार पहिलो साता स्वदेश फर्किएका छन् । यता शर्मा पनि पार्टीमा खासै सक्रिय भएनन् । बस्नेत भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री छन् । प्रधानमन्त्री नियुक्त भइसकेपछि दाहालले पार्टीको काममा समय दिन भ्याएका छैनन् । महासचिव गुरुङले ‘जेनतेन’ पार्टी सञ्चालन गरिरहेका छन् । माओवादी महाधिवेशनपछि केन्द्रीय समितिको बैठक नबसेको करिब १५ महिना भइसकेको छ ।

अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्राथमिकता सरकारमा छ । सरकारमा भएका नेताहरू सिंहदरबारमै अल्मलिएकाले संगठन ध्वस्त छ । अध्यक्ष प्रधानमन्त्री भए पनि महासचिवको सक्रियताले संगठन गतिशील हुनुपर्ने हो तर त्यस्तो हुन नसकेको गुनासो पार्टीभित्र उठ्न थालेको छ । यही बेला पुन, शर्मा र बस्नेतले सक्रियता बढाएका हुन् । ‘हामी पार्टी बनाउन एक ठाउँमा उभिएका हौं, पार्टी सकियो भने को बाँकी रहन्छ ?’ उपमहासचिव शर्माले भने, ‘यही ताल भयो भने पार्टी सकिन्छ, हामी पनि सकिन्छौं ।’

अध्यक्ष दाहालले पुन र शर्मामध्ये एकलाई महासचिव किन बनाएनन् ? यी दुई नेताको पार्टीमा देशव्यापी रूपमा आफ्नै गुट छ । यी दुईसँग बस्नेत मिसिएपछि उनीहरू देशव्यापी रूपमा संगठन ‘कब्जा’ गर्ने अवस्थामा पुग्छन् । त्यसले मुख्य नेतृत्वलाई विस्थापित त गर्दैन तर उनीहरूले भनेअनुसार पार्टी चल्नुपर्ने अवस्था आउने एक सचिवालय सदस्यले बताए । ‘वर्षमान, जनार्दन र शक्तिजी मिल्दा पार्टीमा दाहालपछि अर्को शक्तिशाली केन्द्र बन्छ,’ ती नेताले भने, ‘अध्यक्षले सम्पूर्ण निर्णय आफूले चाहेअनुसार गर्न कठिन हुन्छ ।’

उनका अनुसार दाहालले पार्टीमा प्राधिकार कायम राख्न तेस्रो व्यक्ति गुरुङलाई महासचिव बनाए तर उनी राष्ट्रियताका सवालमा फरक विचार राख्छन् । गुरुङले भारत र अमेरिकाप्रति दाहालभन्दा बढी आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन् । एमसीसीका विषयमा गुरुङले पार्टीभित्र फरक लिखित प्रस्ताव राखेका थिए तर माओवादीले एमसीसी व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।

गत भदौमा गुरुङ महासचिव भएपछि संगठनका गतिविधि ठप्पप्रायः भएको आरोप छ । यो बीचमा केन्द्रीय समितिको बैठक तीन पटक स्थगित भएको छ । हाल माओवादी अध्यक्ष दाहालको स्वविवेकले चलिरहेको छ । गत मंसिरको आमनिर्वाचनमा कांग्रेसलगायत दलसँग सहकार्य गर्ने, निर्वाचन परिणामपछि पुस दोस्रो साता कांग्रेस छाडेर एमालेसँग सत्ता साझेदार गर्ने, दुई महिनापछि राष्ट्रपति कसलाई बनाउनेमा कुरा नमिल्दा फेरि कांग्रेससित सहकार्य गर्ने, मन्त्री चयन गर्नेलगायतका विषयमा पद्धतिभन्दा अध्यक्षको एकाधिकारमा पार्टी चल्दै आएको छ । ‘पार्टी विधि, पद्धतिभन्दा दाहाल परिवारको निगाहमा चलिरहेको छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘बैठकमा अरू नेताले हस्ताक्षर गर्ने मात्र हो ।’

एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकार असार १५ मा ढलेपछि कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकार बन्यो । उक्त सरकारमा दाहालका ज्वाइँ जीवन आचार्य दोस्रो पटक मन्त्री भए । जबकि कोशी प्रदेशका माओवादीका अन्य नेताहरू मन्त्रीको आकांक्षी थिए । ‘दोहोर्‍याएर ज्वाइँलाई मन्त्री बनाउनुको अरू कारण केही छैन नाताबाहेक,’ कोशीका एक नेताले भने । जीवन आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

नेकपा मसालका महामन्त्री मोहन वैद्यलाई विस्थापित गरी दाहाल २०४६ सालदेखि पार्टी नेतृत्वमा छन् । करिब तीन दशक पार्टी प्रमुख भएका दाहाल अझै एक दशक सक्रिय राजनीतिमा लाग्ने बताउन थालेका छन् । अब एक दशक पार्टीको प्रमुख भूमिकामा रहे भने दाहाल ८० वर्ष पुग्नेछन् ।

चन्द नजिकिँदै, भट्टराई टाढिँदै

२०६९ असारमा माओवादी छाडेर अर्को पार्टी गठन गरेका नेत्रविक्रम चन्द माओवादीसँग नजिकिएका छन् भने गत आमनिर्वाचनदेखि दाहालसँग नजिकिएका बाबुराम भट्टराई फेरि टाढिएका छन् । चन्दले एकीकृत क्रान्तिको नारासहित अर्धसशस्त्र आन्दोलन सुरु गरेका थिए । त्यसलाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएका उनी हाल समाजवादी मोर्चामा सहभागी भएका छन् । युद्धकालीन मुद्दा ब्युँताउने सन्दर्भ आएपछि चन्दले खरो प्रतिवाद गरेका थिए । उनी पूर्वमाओवादीहरू एक ठाउँमा आएर समाजवादी क्रान्ति गर्नुपर्ने पक्षमा छन् । पार्टीभित्र पुन, शर्मा र बस्नेतको सक्रियता बढ्दा दाहालले चन्दलाई भित्र्याउन खोजेका छन् ।

असार २० मा अखिल क्रान्तिकारीबाट स्ववियुमा निर्वाचित कार्यकर्ताको भेलामा दाहालले चन्दसँग पार्टी एकताको संकेत गरेका थिए । ‘हामी आफूलाई रैथाने माओवादी ठान्छौं पार्टीलाई डिफेन्स गर्न, नेतृत्वको पक्षमा कस्सिएर बोल्न अलि डराएका जस्तो छौं हामी रैथाने,’ उनले भनेका थिए, ‘तर विप्लवजीहरू आजभोलि कस्सिएर बोल्न थाल्नुभएको छ । पार्टी एकता संयोजन समिति बनाएर एकता सँगसँगै अघि बढाइँदै छ ।’

त्यसको अर्को दिन उपमहासचिवत्रय पुन, शर्मा र बस्नेतले त्यही भेलामा सम्बोधन गरेका थिए । उनीहरूको भनाइको सार थियो, ‘हामी मिलेर पार्टीको पुनःसंचना गरी अघि बढ्न चाहन्छौं । २५–३० वर्षदेखि हामी पार्टी र नेतृत्व सफल बनाउन लागेका छौं ।’ रैथाने माओवादीले आफ्नो प्रतिवाद नगरेको भन्ने दाहालको भनाइको पनि उनीहरूले खण्डन गरे । ‘युद्ध, शान्ति प्रक्रिया, सरकार, सडक र सदनमा प्रचण्डको रक्षा कसले गर्‍यो ? रैथानेले कि गैररैथानेले ?’ उनीहरूको प्रश्न छ ।

दाहालनिकट स्थायी समिति सदस्य नारायण दाहालले पार्टीभित्र असन्तुष्टि भए पनि खासै समस्या नभएको बताए । ‘पार्टीभित्र असन्तुष्टिहरू छन्, त्यस्तो अर्थपूर्ण कुरा केही छैन,’ उनले भने, ‘नेतृत्व र विचारमा केन्द्रीकरण गरेर अघि जानु अहिलेको पार्टी नीति हो ।’ सचिव गणेश शाहले पार्टीमा गुट, उपगुट भएकाले उकुसमुकुस देखिएको बताए । ‘पार्टीभित्र उकुसमुकुस हुनु स्वाभाविक हो,’ उनले भने, ‘केन्द्रीय समिति बैठकपछि पार्टीले गति लिने अपेक्षा गर्न सकिन्छ ।’

माओवादीमा चन्दको प्रवेश हुने चर्चा चलिरहेका बेला बाबुराम भट्टराई भने टाढिएका छन् । आमनिर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर उनको पार्टी चुनावी मैदानमा होमिएको थियो । भट्टराईले आफ्नो क्षेत्र गोरखा–२ दाहाललाई छाडेका थिए भने चुनावको परिणामपछि पार्टी एकता गर्ने समझदारीसमेत भएको थियो ।

पार्टीको नाम नेकपा समाजवादी राख्ने छलफल पनि भएको थियो । तर, दाहालले समाजवादी मोर्चामा समेत नसमेटेपछि भट्टराई टाढिएका छन् । समाजवादी मोर्चामा सत्ता साझेदार जसपा अध्यक्ष उपेन्द्र यादवको असन्तुष्टिका कारण समावेश गर्न नसकेको तर्क दाहालले गरेको भट्टराईनिकट नेताले सुनाए । भट्टराईले सत्ता गणितका लागि समाजवादी मोर्चा बनाएको सार्वजनिक रूपमा बताइसकेका छन् ।भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी र माओवादीबीच एकता नहुनुको कारण भने अर्कै छ । हाल माओवादीमा दाहालविरुद्ध आवाज उठाउन सक्ने नेता छैनन् । दाहाल र भट्टराई एउटै पार्टीमा रहे मुख्यगरी दुई शक्ति केन्द्र हुने दाहालको बुझाइ छ । आफूप्रति असन्तुष्ट नेताहरू भट्टराईको पक्षमा लाग्ने आकलन गर्दै दाहालले पार्टी एकताका लागि पहल नगरेको ती नेताको भनाइ छ । अर्कोतिर नारायणकाजी श्रेष्ठ हाल माओवादीका वरिष्ठ उपाध्यक्ष छन् । भट्टराई मिसिएपछि दोस्रो वरीयताको विवाद बल्झिने भएकाले श्रेष्ठ पनि उनलाई भित्र्याउन चाहँदैनन् ।

आजको कान्तिपुर दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ