धनगढी उप महानगरका हाकिम रामलाल फरार ?


धनगढीः सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका स्वास्थ्य कर्मचारी आन्दोलित बनेका छन्।उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएर आएका कर्मचारीको हाजिर रोकेपछि उनीहरु आन्दोलित भएका हुन्।

जसका कारण कर्मचारीहरुले उपमहानगरपालिकाको कार्यालयमा दैनिक धर्ना दिने गरेका छन्। कर्मचारी फिर्ताविरुद्ध गठित संघर्ष समितिले निरन्तर धर्ना कार्यक्रम गरिरहेको छ। यहीँ क्रममा आज समितिले एक पत्रकार सम्मेलन आयोजना गरेको थियो।

सोही पत्रकार सम्मेलनमार्फत आन्दोलित स्वास्थ्यकर्मीले धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ फरार रहेको जनाएका छन्। विगत १ हप्तादेखि आफूहरुले समस्या समाधानको पहलका लागि सम्पर्क र भेटघाट गर्न खोज्दा उनी सम्पर्कमा नआएको उनीहरुको दाबी छ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमलप्रकाश जोशीले हाकिम श्रेष्ठ कर्मचारीको नेतृत्व भएर समस्या समाधानका लागि अग्रसर हुनुपर्नेमा मेयरको राजनीतिक सल्लाहकारजस्तो बनेको समेत आरोप लगाए। यस्तै ती फरार हाकिम श्रेष्ठविरुद्ध आफूहरु अब पनि सम्पर्कमा नआए उजुरी गर्ने गर्दै उनलाई उपमहानगर कार्यालय प्रवेशमा निषेध गर्ने तयारीमा रहेको उनले बताए।

स्रोतका अनुसार हाकिम श्रेष्ठ र नगरप्रमुख गोपाल हमाल एक कार्यक्रमका लागि काठमाडौं गएका छन्। उनीहरु काठमाडौंमा रहेकै बेला उपमहानगरमा आन्दोलन चर्किएको हो। आन्दोलनरतहरुले धनगढीले खास प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको गुनासो गरे।

उनीहरुले हाकिम श्रेष्ठको स्वायत्ततामाथि प्रश्न उठाउदै मेयरसामु उनले आत्मसमर्पण गरेको पनि दाबी गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भनेको तर उपमहानगरपालिकाले नमानेको भन्दै निजामती कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

अझै पनि धनगढी उपमहानगरपालिकाले स्रोतको अभाव देखाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता पठाइएका स्वास्थ्य सेवातर्फका कर्मचारीलाई शुक्रबारदेखि हाजिर गर्न नदिए सेवा ठप्प पार्ने उनीहरुको चेतावनी छ।

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएर आएका कर्मचारीलाई तलब लगायतका सेवा सुविधा उपलब्ध गराउन नसक्ने बताउदै साउनदेखि हाजिर लगाउन दिएको छैन। हाजिर लगाउन नदिएपछि स्वास्थ्य सेवाका कर्मचारी धर्नामा बसेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ