धनगढीमा उप महानगरपालिकाले एक अर्ब ९३ करोडको बजेट


धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ९३ करोड आठ लाख २४ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख कन्दकलाकुमारी रानाले नगरसभामा आइतबार बजेट प्रस्तुत गरेकी हुन्।

उपमहानगरले कुल बजेटमध्ये चालूतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार र पुँजीगततर्फ ७५ करोड ६३ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ। उपमहानगरको आन्तरिक आय ३५ करोड ४३ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने ४६ करोड ९७ लाख ९२ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ संघबाट प्राप्त हुने ९२ करोड ८५ लाख र प्रदेशबाट प्राप्त हुने पाँच करोड ३२ लाख बजेटको स्रोतको रूपमा रहेको छ। त्यस्तै, सरी आएको मौज्दात १२ करोड ५० लाख रुपैयाँ पनि बजेटको स्रोतमा राखिएको छ।

चालू वर्षका लागि दुई अर्ब एक करोड २७ लाखको आयव्यय प्रस्तुत गरिएकोमा जेठ मसान्तसम्म एक अर्ब ६३ करोड साढे ९६ लाख प्राप्त भइसकेको उपमहानगरले जनाएको छ। चालू वर्षमा आन्तरिक आयसँगै प्रदेश र संघीय सरकारबाट प्राप्त हुने अनुदान र राजस्वमा संकुचन आएको उपप्रमुख रानाले बताइन्। उपमहानगरपालिकाले सामाजिक विकासतर्फ ८५ करोड ३६ लाख र पूर्वाधार विकासतर्फ ३६ करोड ८३ लाख विनियोजन गरेको छ।

बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि भदौ महिनाभित्रै कार्यविधि बनाएर तत्कालै कार्यान्वयनमा लैजाने उपप्रमुख रानाले बताइन्। बहुवर्षीय योजनाहरू समयमै सम्पन्न नहुँदा भुक्तानी दायित्व सर्दै जाने र यसले आर्थिक भार थपिँदै जाँदा गौरव र रूपान्तरणकारी आयोजना सुरुवात गर्न नसकिएको उपमहानगरको बजेटमा उल्लेख गरिएको छ। बहुवर्षीय आयोजना सञ्चालन गर्दा स्रोतको सुनिश्चितता गरेर मात्र सञ्चालन गर्ने नीति लिइएको उपप्रमुख रानाले बताइन्।

बजेटले सामाजिक, सांस्कृतिक रूपान्तरणसँगै स्वरोजगारका अवसर सिर्जना हुने अपेक्षा गरिएको उपमहानगरले जनाएको छ। विकास खर्चलाई चालू खर्चमा रकमान्तर गर्न नपाउने, चालू खर्च धान्ने गरी आन्तरिक आम्दानी बढाउने, करारमा कार्यरत कर्मचारीको पुनरावलोकन गरेर प्रशासनिक खर्च घटाउने विषयहरू बजेटमा समेटिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ