मन्त्री सिंह सवार गाडी दुर्घटनाबारे छानबिन गर्न समिति गठन


सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनाबारे छानबिनका लागि प्रदेश सरकारले समिति गठन गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव गंगाबहादुर खरेलको संयोजकत्वमा सातसदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी ७ नम्बर बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा सदस्य छन्।

त्यस्तै, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा र यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थी सदस्य सचिव रहेका प्रदेश सरकारले जनाएको छ।

समितिलाई घटनाबारे सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायात व्यवस्था कार्यालयबाट समितिमा रहने सदस्यको नाम सम्बन्धित कार्यालयले दिने उनले बताए।

मन्त्री सिंह सवार मन्त्रालयको सु.प.प्र.००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका–१, झारछडामा मंगलबार दुर्घटना भएको थियो। दुर्घटनामा मन्त्री सिंहसहित उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो। फराकिलो सडक भएको स्थानबाट गाडी करिब ५० मिटर तल कालंगा नदी किनारमा खसेको थियो।

दुर्घटनामा चालक धर्मराज जोशी र मन्त्री सिंहका अंगरक्षक दीपक भण्डारी घाइते भएका थिए। उनीहरू दुवैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। सिंह निजी भ्रमणको सिलसिलामा मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला बझाङ गएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ