सुदूरपश्चिममा १०१ दिनपछि मन्त्रिमण्डल विस्तार, नागरिक उन्मुक्ति सहभागि नहुँदा सरकार अपूर्ण


काठमाण्डु- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्। सरकार गठन भएको १ सय १ दिनपछि मुख्यमन्त्री शाहले नेकपा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसको तर्फबाट एक जना मन्त्रीलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन्।

मुख्यमन्त्री शाहले आन्तरिक मामिला मन्त्रीमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्रीमा झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश सिंह धामी र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा गीता देबी माललाई नियुक्त गरेका छन्।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्। शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराए। त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका छन्।

कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार तथा र नेकपा एकीकृत समाजवादीका नरेश शाही आर्थिक मामिला मन्त्रीमा यसअघि नै नियुक्त भएका थिए।

यसअघि, सरकारमा सहभागी हुने भनिएको दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन । पार्टीका सांसद रामेश्वर चौधरीले आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भएको तर अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको बताए।

चौधरीले कांग्रेसले मुख्यमन्त्री र मन्त्री तथाा मओवादीले सभामुख सहित मन्त्री पाउँदा संसदको तेश्रो ठूलो तथा निणर्ायक दल नागरिक उन्मुक्ति पार्टीले के पायो भन्दै प्रश्न गरे।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन्। तर उन्मुक्तिले दुई मन्त्रालय नदिदासम्म सरकारमा नजाने अडान राखेको छ । मुख्यमन्त्री भने एक मन्त्रालयमै नागरिक उन्मुक्ति सरकारमा सहभागि हुने विश्वास लिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ