‘मैले भ्रष्टाचारको फाइल खोलेँ, तपाईंले सरकारलाई दिएको समर्थन नै फिर्ता लिइदिनुभयो’


रवि लामिछानेसँग प्रधानमन्त्रीको गुनासो

लामिछानेलाई प्रधानमन्त्रीले भने–तपाईंले भ्रष्टाचारको फाइल खोल्नुपर्ने मुद्दा उठाउनुभएको थियो । मैले नक्कली शरणार्थी प्रकरणको फाइल खोल्नासाथ उल्टै सरकारलाई दिएको समर्थन फिर्ता लिइदिनुभयो । सरकारमा आउनुहोस् सहकार्य गरौँ ।

प्रधानमन्त्रीलाई लामिछानेको जवाफ–केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले तत्काल सरकारमा आउने सम्भावना छैन । तर, सरकारको राम्रा काममा सधैँ साथ रहनेछ ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भ्रष्टाचारको फाइल खोल्नासाथ सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै चित्त दुखाएका छन् । नक्कली शरणार्थी प्रकरणमा सरकारले चालेको कदमप्रति धन्यवाद दिन शुक्रबार बिहान बालुवाटार पुगेका लामिछानेसँग प्रधानमन्त्रीले यस्तो गुनासो पोखेका हुन् ।

‘तपाईंले भ्रष्टाचारको फाइल खोल्नुपर्ने मुद्दा उठाउनुभएको थियो । मैले नक्कली शरणार्थी प्रकरणको फाइल खोल्नासाथ तपाईंहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिइदिनुभयो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने । प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुनः सरकारमा सहभागी हुन आग्रह गरेको आचार्यले बताए । लामिछानेले भने समर्थन फिर्ता लिएर प्रतिपक्ष बस्ने निर्णय गरिसकेकाले तत्काल सम्भव नरहेको बताएका थिए । ‘तर, राम्रो काममा सधैँ साथ रहने उहाँले बताउनुभयो,’ आचार्यले भने ।

भेटमा लामिछानेले यस प्रकरणमा सरकारका कामको प्रशंसा गर्दै अनुसन्धानमा खुट्टा नकमाउन आग्रह गरेका थिए । ‘रविजीले भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले गरेको कामप्रति खुलेर प्रशंसा गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘उहाँले प्रधानमन्त्रीज्यूलाई भन्नुभयो– अनुसन्धानमा खुट्टा नकमाउनुस्, हामी साथमा छौँ ।’ जवाफमा प्रधानमन्त्रीले सरकार भ्रष्टाचारविरोधी अनियानमा रहेको भन्दै पछि नहट्ने स्पष्ट पारेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले तीन ठूला दलको मात्र बैठक बस्ने गरेको भन्दै आफ्नो दल पनि संसद्को चौथो ठूलो दल भएकाले बैठकमा बोलाउन आग्रह गरेका थिए । ‘तपाईंहरू तीन दल (कांग्रेस, एमाले, माओवादी) दिनहुँजसो बैठक बसिरहनुभएको छ । हामी चौथो दल हौँ । देशको महत्वपूर्ण विषयमै छलफल गर्न बसेको हो भने हामीलाई किन छुटाउनुहुन्छ ? हामीलाई पनि बोलाउनुस्,’ लामिछानेले प्रधानमन्त्रीलाई भनेका थिए । जवाफमा प्रधानमन्त्रीले यसबारे तीन दलको बैठकमा कुरा राख्ने बताएको लामिछानेनिकट स्रोतले भन्यो ।

आजको नयाँ पत्रिका दैनिकबाट


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ