ओलीसँगको भेटपछि प्रचण्डले भने- कसैको दबाबमा पर्दिनँ, दोषीलाई कारवाही गर्न दृढताका साथ अघि बढ्छु


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थीबारे कसैको दबाबमा नपर्ने बताएका छन् ।

शनिबार सिंदरबारमा नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तापछि प्रचण्ड भुटानी शरणार्थीबारे कसैको दबाबमा नपर्ने बताएका हुन् । आज भएको भेटवार्तामा अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थीबारे भइरहेको अनुसन्धानबारे चासो राखेका थिए ।

भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आजको भेटमा अध्यक्ष ओलीले अनुसन्धानबारे चासो राखेको बताए । ‘आज ओलीजीले अनुसन्धानबारे कन्सर्न राख्नुभयो । प्रधानमन्त्रीसँग कसैलाई बचाइदिनुहोस् भन्ने कुरा भएन । हामी कसैको दबाबमा पर्दैनौँ । कानुनअनुसार अनुसन्धान प्रक्रिया अघि बढ्छ । यो रोकिँदैन । हामी दृढताका साथ अघि बढ्छौँ । निर्दोष कोही नपरुन्, दोषी कोही नछुटुन् भन्ने हाम्रो मान्यता छ ।’, उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि र सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि ओलीले दोस्रो पटक प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । ओलीले यसअघि वैशाख २१ गते प्रधानमन्त्रीलाई भेटेर रायमाझीलाई बाटोबाटै हत्कडी लगाउन नहुने बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ