मुटु स्वस्थ राख्न यस्तो जीवनशैली


पछिल्लो समय नेपालमा घर–घरमा मुटुरोगीको संख्या बढ्दो छ । पहिले ५०–६० वर्षभन्दा माथिकालाई मात्रै मुटुमा समस्या देखिन्थ्यो । तर, अहिले ४० वर्षमुनिका मानिसमा पनि मुटुरोग देखिन थालेको छ । मुटुमा समस्या देखिनुको प्रमुख कारण विलासी जीवनशैली नै हो । शारीरिक रूपमा सक्रिय रहन सक्यो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ ।

मुख्य कुरा सानैदेखि स्वस्थकर खानेकुरा खाने बानी बसाल्नुपर्छ । आजकल बाबु–आमा दुवै काममा व्यस्त हुन्छन् । बालबच्चामा बजारको खानेकुरा खाने बानी बस्छ । जंकफुडले मुटुलाई असर गरिरहेको हुन्छ । त्यसको असर ठूलो भएपछि देखिन्छ ।

त्यस्तै, पर्याप्त शारीरिक अभ्यासको कमीका कारण बालबालिकामा पनि मोटोपन देखिन थालेको छ । अल्छी र आवश्यकभन्दा धेरै तौल भएका बालबालिकामा ठूलो भइसकेपछि मुटुरोग लाग्न सक्ने जोखिम रहन्छ । यसतर्फ अभिभावक सधैँ सजग रहनुपर्छ । आफू पनि शारीरिक गतिविधिमा सक्रिय रहने र बच्चालाई पनि सक्रिय राख्ने गर्नुपर्छ ।

दैनिक कम्तीमा ३० देखि ४० मिनेट हिँड्ने, नियमित व्यायाम गर्ने, बच्चालाई खेलकुदमा लगाउने, योग तथा प्राणायाम सिकाउने गर्नुपर्छ । यस्ता क्रियाकलापले तौल नियन्त्रण हुन्छ । जसकारण मधुमेह र रक्तचाप पनि नियन्त्रणमा रहन्छ र मुटुरोगको जोखिम कम भएर जान्छ ।

कस्ता खानेकुरा खाने ? 
– खानामा नुन र चिल्लो कम गर्ने । घ्यू, चिज, पनिर, बटरलगायत चिल्ला कुराहरू थोरै प्रयोग गर्ने ।
– कार्बाेहाइड्रेट भएका खानेकुरा कम खाने ।
– हरियो सागसब्जी तथा फलफूल प्रशस्त खाने ।
– रातो मासु सकभर नखाने, बोसोयुक्त मासु नखाने ।
– ड्राइफुड कम खाने ।
– सादा दाल–भात–तरकारी खाने ।
– गुलियो कम खाने । सकेसम्म चिनी नखानु राम्रो हो ।
– तेलमा तारेका, भुटेका खानेकुरा नखाने ।
– अहिले माछा–मासु छाकैपिच्छे खाने चलन छ । तर, गलत हो । सन्तुलन मिलाएर मात्रै खानुपर्छ ।
– धूम्रपान र मद्यपान नगर्ने । यसले मुटुलाई प्रत्यक्ष रूपमा असर गर्छ ।

के गर्ने ?
– शारीरिक व्यायाम नियमित गर्ने । बच्चालाई पनि शारीरिक रूपमा सक्रिय राख्ने । कतिपय स्कुलमा खेल्ने ठाउँ पनि हुँदैन । बालबालिकालाई घरमा मोबाइल वा टिभीमा गेम खेल्ने बानी बसेको हुन्छ । ग्याजेटको अत्यधिक प्रयोगले बालबालिकालाई अल्छी बनाउँछ र विभिन्न मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ । मोटोपन बढ्ने गर्छ । त्यसैले बालबच्चालाई बाहिर खेलाउने र घुमाउने गर्नुपर्छ । उनीहरूलाई प्रकृतिसँग नजिक गराउने गर्नुपर्छ । दैनिक कम्तीमा पनि ३० देखि ४० मिनेट शारीरिक रूपमा सक्रिय रहनुपर्छ ।

– अनावश्यक तनाव लिनुहुँदैन । तनावले निद्रा बिगार्छ र मुटुमा असर गर्छ । मुटु स्वस्थ राख्नका लागि पर्याप्त मात्रामा निदाउन आवश्यक छ । तर, आवश्यकताभन्दा धेरै निदाउने, दिउँसै सुत्नेलगायत काम पनि गर्नुहुँदैन ।

facebook sharing button
twitter sharing button
messenger sharing button


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ